समानुपातिकको सूची पठाउन अझै ढिलाइ

  • 12 डिसेम्बर 2013
nc
Image caption नेपाली कांग्रेसले मंसिर ३० पछि मात्रै समानुपातिक सूचीबारे छलफल गर्ने बताएको छ

दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले समानुपातिकतर्फ आफूहरुले जितेका सिटमा सभासद्को सूची पठाउन थप ढिलाइ गर्ने भएका छन्।

नेकपा एमालेले त्यसको टुंगो लगाउने जिम्मा स्थायी कमिटीलाई दिएको छ भने कांग्रेसले यो महिनाको अन्त्यपछिमात्रै समानुपातिकको सूचीबारे थप छलफल गर्ने तयारी गरेको छ।

यी दुवै दलले अन्य राजनीतिक छलफलका लागि समय निकाल्नुपर्ने भएकाले केही ढिलाइ गर्न लागेको बताएपनि कतिपयले आन्तरिक असन्तुष्टि चुलिएका कारण विवाद मिलाउन पछि धकेलिएको रुपमा त्यसलाई अर्थाएका छन्।

ढिलाइ

मुख्य दलहरुको आग्रहमा निर्वाचन आयोगले समानुपातिकतर्फ सभासदको सूची बुझाउने समयावधि गत मंगलवारबाट बढाएर आगामी बुधवारसम्मका लागि तोकेको थियो।

तर समयावधि बढाएको दुई दिन बितिसक्दा पनि यी दुवै दलले समानुपातिक सूचीबारे ठोस निर्णय लिन सकेका छैनन्।

एमालेको हिजो सकिएको केन्द्रिय समितिको बैठकले त्यसको टुंगो लगाउने जिम्मा स्थायी कमिटीलाई दिएको छ।

एमालेका महासचिव ईश्वर पोख्रेलले भने, "समानुपातिकमा व्यक्ति पठाउने सवालमा मापदण्ड प्रस्ताव गरिएका छन्।तिनलाई ठोस रुप दिइ स्थायी कमिटीले तय गरोस् भन्ने निर्णय लिएका छौं।"

तर स्थायी कमिटी बैठक भने कहिले बस्ने टुंगो लागि नसकेको उनले बताए।

असन्तुष्टि

सबैभन्दा ठूलो दल कांग्रेसले पनि समानुपातिक सूचीमाथिको छलफललाई पर धेकलेको छ।

उसले मंसिर ३० गतेबाट त्यसमाथि काम थाल्ने बताएको छ।

त्यस्तो ढिलाइका लागि कतिपयले आन्तरिक असन्तुष्टिलाई कारक माने पनि कांग्रेसले भने अन्य राजनीतिक समस्या समाधानमा ध्यान केन्द्रित गर्नुपरेकाले पछि धकेलिएको बताएको छ।

कांग्रेस नेता विमलेन्द्र निधि भन्छन्, "समानुपातिकमा सभासद्को नाम नपठाउने एकीकृत माओवादीलाई मनाउने प्रयासका लागि हामीले केही समय लिएका हौं।"

प्रमुख दलहरुले गरेको ढिलाइलाई कतिपयले निर्धारित मितिको अन्त्यतिरमात्रै काम गर्ने उनीहरुको पुरानै शैलीका रुपमा अर्थाएका छन्।