इस्लामवादी नेतालाई मृत्युदण्डपछि बंग्लादेशमा तनाव

  • 14 डिसेम्बर 2013
बंग्लादेश तनाव
Image caption तनाव र हिंसा चर्किएपछि आगामी महिनाका लागि तोकिएको चुनाव संकटमा परेको छ

बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्रामका बेला युद्ध अपराध गरेको अभियोगमा फाँसी दिइएका इस्लामवादी नेता अब्दुल कादिर मुल्लाहको अन्त्येष्टि गरिएको छ। उनलाई फाँसी दिइएपछि बंगलादेशमा हिंसा भड्किएको छ।

सुरक्षा व्यवस्था कडा पारिएको बताइएपनि दुई दिनयता भएको हिंसामा पाँच जना मानिसको ज्यान गएको छ।

संकट गहिरिंदै जाँदा आगामी जनवरी ५ का लागि निर्धारित चुनाव समेत प्रभावित हुन सक्ने चिन्ताहरु व्यक्त हुन थालेका छन्।

आरोप

इस्लामवादी नेता अब्दुल कादिर मुल्लाह सन् १९७१ मा भएको ठानिएको युद्ध अपराधका लागि त्यहाँको विशेष अदालतले फाँसी दिएको पहिलो उच्च नेता हुन्।

पाकिस्तानबाट छुट्टिने क्रममा स्वतन्त्रता पक्षधरहरुको आमहत्या गरेको अभियोग उनीमाथि लगाइएको थियो।

कट्टरपन्थी जमात-ए-इस्लामी पार्टीसंग आवद्ध मुल्लाहलाई उनकै गाउँमा शुक्रबार अन्त्येष्टि गरिएको छ। सो क्रममा उनका सयौं समर्थक भेला भएका थिए।

उक्त पार्टीका अन्य चार जना उच्च नेतामाथि पनि युद्ध अपराधको अभियोग लगाइएको छ।

चुनावको चिन्ता

पछिल्लो घटनापछि तनाव चुलिंदै जाँदा आगामी जनवरी ५ का लागि निर्धारित संसदीय चुनाव समेत प्रभावित हुन सक्ने चिन्ताहरु व्यक्त हुन थालेका छन्।

विपक्षी बंगलादेश नेशनलिस्ट पार्टी चुनावका लागि स्वतन्त्र सरकार गठन गर्नुपर्ने मागसहित यसअघि देखि नै आन्दोलनमा छ।