मण्डेलाको पार्थिव शरीर पुर्खयौली घरतर्फ लगिंदै

  • 14 डिसेम्बर 2013
Image caption कुनु जाने सडकको छेउमा मानव साङ्लो बनाइ मण्डेलाप्रति सम्मान व्यक्त गर्न आह्वान गरिएको छ

पूर्व दक्षिण अफ्रिकी राष्ट्रपति नेल्सन मण्डेलाको पार्थिव शरीर राखिएको बासकलाई कुनुस्थित उनको पुर्खयौली घर लग्ने क्रममा विमानमार्फत पूर्वी केप क्षेत्र पु-याइएको छ।

मण्डेलाको खलक तथा परिवारका वरिष्ठ सदस्यहरू संगै लगिएको सो शव बाकसलाई एमथाथा विमानस्थलमा सैन्य सम्मान अर्पण गरिएको थियो।

पूर्वी केप क्षेत्रतर्फ जाँदा सो विमानसंगै दुईवटा लडाकू विमान पनि उडेका थिए।

कुनु जाने सडकको छेउमा मानव साङ्लो बनाइ मण्डेलाप्रति सम्मान व्यक्त गर्न मानिसहरूलाई अनुरोध गरिएको छ।

पारम्परिक समारोह

कुनुमा थेमु समुदायले विशेष रूपमा स्थापित एउटा ठूलो पालमुनि पारम्परिक समारोहको आयोजना गर्नेछन्।

त्यसअघि दक्षिण अफ्रिकाको सत्तारूढ दल अफ्रिकी राष्ट्रिय कंग्रेसले आइतबार हुने नेल्सन मण्डेलाको अन्त्येष्टीअघि उनीप्रति अन्तिम श्रद्धान्जली चढाएका छन्।

बहुधार्मिक प्रार्थना तथा सांगितिक श्रद्धान्जली पनि समावेश गरिएको सो समारोहमा दक्षिण अफ्रिकी राष्ट्रपति तथा अफ्रिकी राष्ट्रिय कंग्रेसका अन्य नेताहरू सहभागी थिए।

कुनै बेला मण्डेलाले नेतृत्व प्रदान गरेका सो दलका एक हजार भन्दा बढी सदस्यको पनि उक्त समारोहमा सहभागिता थियो।

मण्डेलाको पार्थिव शरिरलाई प्रिटोरियामा गत तीन दिनसम्म राजकीय सम्मानकासाथ राखिएको थियो जहाँ कम्तिमा एक लाख मानिस हेर्न पुगेका थिए।

अमेरिकी नागरिक अधिकारकर्मी जेस्सी ज्याक्सन र उत्तरी आयरल्याण्डको सिन फेइनका नेता जेरी अडाम्स सो समारोहमा निम्त्याइएका विदेशी पाहुनाहरू मध्येका थिए।