पुन: म्याद थप्ने आग्रह नआओस्: निर्वाचन आयोग

  • 16 डिसेम्बर 2013
Image caption दलहरुबीच सहमति जुट्न नसकिएपछि उच्चस्तरीय राजनीतिक समितिलाई संविधानसभाको पहिलो बैठकसम्म निरन्तरता दिने निर्णय गरेका छन्

समानुपातिकतर्फ सभासदको सूची बुझाउन दलहरुलाई हदै सम्मको समय दिइसकेको भन्दै प्रमुख निर्वाचन आयुक्तले फेरि म्याद थप्न आग्रह नआउने अपेक्षा आफूहरुले गरेको बताएका छन्।

त्यस्तो सूची बुझाउने म्याद दोस्रोपटक थप्न आग्रह गर्न मुख्य दलहरुले तयारी गरिररहेका बेला प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीको त्यस्तो भनाइ आएको हो।

मतभेद

निर्वाचन आयोगले दलहरुलाई समानुपातिक तर्फ सभासद्को सूची बुझाउन दिएको म्याद बुधबार सकिँदैछ।

चुनावमा धांधलीको आरोप लगाउंदै आएका एकीकृत माओवादी लगायतका दलले सूची नबुझाउने अडान लिएका थिए।

उनीहरुलाई मनाउनका लागि भन्दै मुख्य दल नेपाली कांग्रेसले म्याद थप्न आग्रह गरेपछि आयोगले बुधवारसम्मको समय दिएको थियो।

तर यो अवधिमा पनि मतभेद कायमै रहने देखिएपछि फेरि एकपटक म्याद थप्न आग्रह गर्ने तयारी मुख्य दलहरुले गरेका हुन्।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, "सहमतिमा संविधानसभामा सबै एकैसाथ जाने वातावरण बन्दै जान्छ भने दुई दिन थप्न हामीलाई केही आपत्ति छैन।"

विश्वास

तर निर्वाचन आयोग दलहरुको यो तयारीप्रति खुशी जस्तो देखिदैंन।

प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले दलहरुलाई सभासद्को सूची बुझाउन हदैसम्मको म्याद दिइसकेको भन्दै असन्तष्टिको संकेत गरे।

उनले भने, "यो १५ दिनको समय हदै भन्दा बढी दिईसकेको अवस्था हो अब यो भन्दा बढी लम्ब्याउने प्रयास दलहरुले गर्ने छैनन् भन्ने विश्वासमा हामी बसेका छौं।"

चुनाव सकिएको एक महिना पुग्न लाग्दा पनि दलहरुबीच सहमति जुट्न नसक्दा नयाँ सरकार निर्माणका लागि मात्रै होइन संविधानसभाको पहिलो बैठक बस्न नै धेरै समय लाग्ने देखिएको छ।