‘दक्षिण सुडानमा सत्तापलटको प्रयास असफल’

  • 16 डिसेम्बर 2013
Image caption राष्ट्रपति किरले स्थितिलाई सरकारले नियन्त्रणमा लिइसकेको बताएका छन्

दक्षिण सुडानका राष्ट्रपति सल्भा किरले उनको सेनाले केही असन्तुष्ट सैनिकहरूले गरेका सत्तापलटको प्रयासलाई अफल तुल्याइ दिएको बताएका छन्।

राजधानी जुबामा राष्ट्रपतीय सुरक्षाबलभित्रका दुई विपक्षी खेमाबीच रातभरी भारी रूपमा गोली हानाहान भएपछि उनको सो भनाइ आएको छ।

सो शहरको विमानस्थल बन्द गरिएको छ र राज्यद्वारा सन्चालित टेलिभिजनको प्रसारण पनि रोकिएको छ।

किरले स्थितिलाई सरकारले नियन्त्रणमा लिइसकेको बताए र रातको समयमा कर्फ्यू लगाइने घोषणा गरे।

जुबामा सैनिक पोशाक लगाइ संवाददाताहरूसित बोल्दै उनले सत्तारूढ दल र पूर्व विद्रोही समुह, सुडान पिपल्स लिबरेशन मूभमेन्टको एक बैठकमा अज्ञात मानिसहरूले गोली चलाएपछि लडाईं शुरू भएको बताए।

संयुक्त राष्ट्रसंघको समर्थन रहेको एक स्थानीय रेडियोले चार बालबालिका घाइते भएका र ती मध्ये दुईको अवस्था गंभीर रहेको जनाएको छ।

राष्ट्रसंघमा शरण

सो रेडियोका अनुसार उक्त लडाईंका कारण ४०० जनाले जुबस्थित राष्ट्रसंघीय परिसरमा शरण लिएका छन् र तीनमा अधिकांश महिला तथा बालबालिका छन्।

राष्ट्रसंघले चिन्ता व्यक्त गर्दै शान्तिका लागि अपील गरेको छ।

उसले आफू सरकारसित सम्पर्कमा रहेको पनि जनाएको छ।

दक्षिण सुडानस्थित राष्ट्रसंघीय प्रतिनिधि हिल्ड जोन्सोनले भनिन्, “मैले सबै पक्षलाई एक अर्कासितको शत्रुवत व्यवहार तुरून्तै रोक्न आग्रह गरेकी छु।

“म तीनका प्रमुख नेताहरूसित नियमित सम्पर्कमा छु।“

शक्ति संघर्षको क्रममा राष्ट्रपति किरले गत जुलाई महिनामा उपराष्ट्रपति रिएक मचार सहित सम्पूर्ण मन्त्रीमण्डललाई विघटन गरे यता दक्षिण सुडानमा तनाव बढेको छ।

मचारले सन् २०१५ मा हुने राष्ट्रपतीय चुनावमा लड्ने संकेत दिएका थिए।

राष्ट्रपति किर दक्षिण सुडानको सबैभन्दा ठूलो समुदाय डिङ्काका हुन् भने मचार दोस्रो ठ्रलो समुदाय नुएरका।

नुएर समुदायका कतिपय सदस्यले देशको राजनीतिमा डिङ्का समुदायको बर्चस्व रहेको गुनासो गर्ने गरेका छन्।

वर्षौंको द्वन्द्वपछि दक्षिण सुडान सुडानबाट सन् २०११ मा छुट्टिएको हो।

तेलको अथाह खानी भएको सो देश जातीय तथा राजनीतिक रुपमा विभाजित छ र त्यहाँ थुप्रै सशस्त्र समुहहरू सक्रिय छन्।