उच्च चिनियाँ नेताको भ्रमणबारे सरकार बेखबर

  • 17 डिसेम्बर 2013
Image caption विदेशी नेताको भ्रमणबारे पहिले पनि परराष्ट्र मन्त्रालय बेखबर भएको पाइएको थियो

नेपालको भ्रमणमा आएका दक्षिण एसिया तथा प्रशान्त क्षेत्रीय मामिला हेर्ने एक जना उच्च चिनियाँ नेताको भ्रमणबारे आफ‍ू अनभिज्ञ रहेको परराष्ट्र मन्त्रालयले बताएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश मामिलासम्बन्धी उपमन्त्री आइ पिंङ दोस्रो संविधानसभा चुनावपछि नेपालको भ्रमण गर्ने सबैभन्दा उच्च अधिकारी हुन्।

विदेशी नेताहरुको यस्ता भ्रमणबारे सरकारलाई जानकारी गराउनुपर्ने चलन रहेको तर नेपालमा विरलै त्यस्तो हुने गरेको जानकारहरु बताउँछन्।

बेखबर

चीनको कम्युनिष्ट पार्टीको विदेश मामिला सम्बन्धी उपमन्त्री झन्डै एक दर्जन सदस्यसहितको टोलीको नेतृत्व गर्दै चार दिने भ्रमणमा नेपाल आएका हुन्।

आईको भ्रमणबारे औपचारिक रुपमा कुनै जानकारी नभएको परराष्ट्र मन्त्रालयअन्तर्गतको उत्तर-पूर्वी एसिया हेर्ने महाशाखाकी प्रमुख सहसचिव अम्बिका लुईटेलले बताइन्।

उनले भनिन्, “कुनै राजनीतिक दलको निम्तो हो भ्रमणबारे हामीलाई केही थहा भएन। राजनीतिक दललाई नै सोध्नुपर्ला।”

तर विदेशी नेताको नेपालमा हुने भ्रमण र भेटघाटबारे परराष्ट्र मन्त्रालय अनभिज्ञ भएको यो पहिलो पटक होइन।

पराराष्ट्र मन्त्रालयले दुई वर्षअघि जारी गरेको कुटनीतिक आचारसंहितामा विदेशी मन्त्री, राजदूतहरु वा अन्य सरकारी अधिकारीहरुलाई नेपालका सरकारी वा अन्य उच्च अधिकारीहरुले भेट्नुपर्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधिलाई साथै राख्नुपर्ने प्रावधान छ।

तर त्यसको पालना नभएको खबर बारम्बार पत्रपत्रिकामा आइरहन्छन्।

परम्परा

विदेशी नेताहरुको भ्रमणबारे सरकारलाई जानकारी गराइनुपर्ने चलन रहेको स्विट्जरलण्डका लागि पूर्व नेपाली राजदुत दिनेश भट्टराई बताउँछन्।

“पार्टीको निम्तोमा आउँदा अन्तरपार्टी सम्बन्धको कुरा बढी हुन्छ तर यस्ता भ्रमणको खबर सरकारलाई गर्दा राम्रो प्रचलन बस्थ्यो,” उनले भने।

कुटनीतिक आचारसंहिताले विदेशी कुटनितिज्ञहरुसँग हुने छलफलको संक्षिप्त प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ।

विदेशी नेताहरुसँग भेटघाटमा हुनसक्ने सुरक्षा लगायत राष्ट्रिय महत्वका विषयबारे सरकारलाई जानकारी गराउनुपर्ने पनि पूर्व राजदुत भट्टराईले उल्लेख गरे।

चुनावको नतिजा सार्वजनिक भैरहँदा काठमान्डूस्थित कतिपय राजदुतहरुले मुख्य दलका नेताहरुलाई उनीहरुकै घरमा गएर भेटघाट गरेको र नवनिर्वाचित सांसदहरुलाई भोज खुवाएको खबर प्रकाशमा आएको थियो।

राजनीतिज्ञहरु बेला बेलामा नेपालमा विदेशीको हस्तक्षेप बढेको गुनासो गर्ने गर्छन्।

तर विदेशी नेता तथा अधिकारीहरुको भ्रमणलाई नियमन गर्न बनाइएको कुटनीतिक निर्देशिकालाई भने उनीहरु आफैँले बारम्बर उल्लंघन गरेका छन्।