मिलेर जाउ:चिनियां उपमन्त्री

  • 19 डिसेम्बर 2013
Image caption नेकपा-माओवादीले चिनियां सुझावबारे के गर्ला त्यो प्रष्ट भइसकेको छैन

हाल नेपाल भ्रमणमा रहेका चिनियां कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री आइ पिंगले अन्य राजनीतिक शक्तिसंग मिलेर छिटो संविधान जारी गर्ने दिशामा अघि बढ्न आफूहरुलाई सुझाव दिएको नेकपा–माओवादीका एक वरिष्ठ नेताले बताएका छन्।

संविधानसभाको विघटन र सर्वपक्षीय राजनीतिक सम्मेलनबाट राजनीतिक निकासको माग गरिरहेको नेकपा माओवादीको शीर्ष नेतृत्वसंग ती चिनियां उपमन्त्रीले बुधवार काठमाडौंमा भेटेका हुन्।

सन्देश

पछिल्लो एक महिनामा उत्तरी छिमेकी चीनबाट भएको तेस्रो उच्चस्तरीय भ्रमणका क्रममा काठमाडौं उत्रिएपछि आइले बुधवार एकीकृत माओवादी र उसबाट छुट्टिएको नेकपा-माओवादीसंग छुट्टाछुट्टै भेटेर राजनीतिक भेटवार्ताहरु थालेका छन्।

फुटेका ती पार्टीलाई मिलेर जान सुझाव दिदैं आएका बताइने ती चिनियां उपमन्त्रीले त्यसबारे यसपटक कुरा नगरेको दावी नेताहरुले गरेपनि सबै शक्ति मिलेर संविधान निर्माण गर्ने आशा भने व्यक्त गरेको बताइएको छ।

उनीसंगको भेटमा सहभागी नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेल भन्छन्, "सबै मिलेर संविधान निर्माण गर्नस्, राजनीतिक निकास दिनुस् र जिम्मेवार पार्टी भएकाले तपाईहरुको पनि भूमिका हुन्छ भन्ने कुरा उहांको थियो।"

दोहोरो कुरा

चिनियां कम्युनिष्ट पार्टीसंग निकटको सम्बन्ध रहेको ठानिएको नेकपा-माओवादीले उनको उक्त सुझाव कसरी मनन गर्छ त्यो भने प्रष्ट हुन बांकी छ।

अन्तर्राष्ट्रिय समुदायका यस्ता खाले सुझावलाई बेला मौकामा हस्तक्षेपको संज्ञा दिने गरेको नेकपा माओवादीले उत्तरी छिमेकीबाट आएका यस्ता सुझाव र चिनियां अधिकारीहरुसंगको भेटलाई भने स्वाभाविक मानेको जस्तो देखिन्छ जसको छनक गजुरेलको यो भनाइमा पनि देखिन्छ।

उनी भन्छन्, "चीनको मात्रै होइन कुरा त सबैको सुन्छौं। छिमेकी मुलुकका प्रतिनिधिलाई भेट्न कुनै समस्या छैन।"

संविधानसभा निर्वाचनपछि पनि कायम रहेको राजनीतिक अन्योल अन्त्य हुने संकेत नदेखिएका बेला बाक्लिएका चिनियां अधिकारीहरुको भ्रमणलाई धेरैले उत्तरी छिमेकीको बढ्दै गएको राजनीतिक चासोका रुपमा व्याख्या गरेका छन्।