विश्व कप फुटबल ट्रफी नेपाल आउँदै

  • 21 डिसेम्बर 2013
दशरथ रंगशाला
Image caption ट्रफि नेपाल आएपछि दिउसो दशरथ रंगशालामा प्रदर्शनको लागि राखिने कार्यक्रम छ

छनौट चरणमै पराजित हुंदै आएको नेपालले विश्व कप फुटबल कहिले खेल्न पाउला? उत्तर सजिलो छैन, तर सपनाहरु चांही जिवित छन्।

नेपालको लागि विश्व कपको यात्रा कठिन देखिएपनि शनिबार पहिलो पटक फुटबल विश्वकपको सुनौलो ट्रफी नेपाली भुमीमा आइपुग्दैछ।

शुक्रबार भुटानको थिम्पु पुर्‍याइएको सो ट्रफी लिएर विश्व फुटबल महासंघ फिफाको एक विशेष विमान विहान १० बजे काठमाण्डू आइपुग्ने कार्यक्रम छ।

भुटानी समाचारपत्र क्युन्सेलको अनलाइन संस्करणले भुटानी राजाले विश्व कपको सुनौलो ट्रफि हातमा लिएर प्रदर्शन गरेको तस्विर प्राथमिकताका साथ छापेको छ।

विश्व यात्रा

हाम्रा खेल सम्बाददाताका अनुसार सो ट्रफि नेपाल आएपछि दिउसो १२.३० बजे दशरथ रंगशालामा राष्ट्रपति डक्टर रामवरण यादवले अनावरण गर्ने कार्यक्रम छ।

सो ट्रफि २४ घन्टा नेपालमै रहन्छ र आइतबार त्यस्लाई थाइल्याण्ड लैजाने कार्यक्रम छ।

सो ट्रफिको विश्व यात्रा गत जुनमा आउने विश्व कप फुटबलको आयोजक राष्ट्र ब्राजिलबाट शुरु भएको थियो।

तीन किलो आठ ग्राम तौलको १८ क्यारेट सुनले बनेको सो ट्रफि गत विश्व कप फुटबलमा स्पेनले जितेको थियो।

विश्व फुटबल महासंघले आफ्ना सदस्य राष्ट्रहरुमध्ये ४९ राष्ट्रमा पहिलो पटक ट्रफी प्रदर्शन गर्न लागेकोमा नेपाल पनि परेको हो।