‘कूटनीतिज्ञ पक्राउले सम्बन्ध बिग्रदैंन’

  • 21 डिसेम्बर 2013
salman
Image caption भारतीय विदेशमन्त्री सलमान खुर्शिदलेर अमेरिका-भारत सम्बन्धलाई मूल्यवान भनेका छन्

अमेरिकास्थित आफ्नी कूटनीतिज्ञको गिरफ्तारीको घटना निन्दनीय भएपनि त्यसबाट द्धिपक्षीय सम्बन्धलाई असर पर्न नदिने भारतले बताएको छ।

ती कूटनीतिज्ञमाथि भएको भनिएको दुर्वयाहारको घटनालाई लिएर रुष्ट बनेको भारतले अमेरिकासंगको सम्बन्ध मूल्यवान रहेको भन्दै त्यसलाई जोगाउन समाधानको बाटो खोजिने जनाएको हो।

सामान्यीकरण

अमेरिकास्थित आफ्नी कूटनीतिज्ञ देव्यानी खोबरागडेको गिरफ्तारी र उनीमाथि गरिएको भनिएको दुर्वयहारको मामिलामा भारत शुरुमा एकदमै आक्रमक जस्तो देखिएको थियो।

Image caption देव्यानीमाथि भएको भनिएको दुर्वयहारलाई लिएर भारतभर आक्रोश फैलिएको छ

तर अब शान्त बन्दै गएको जस्तो देखिन्छ।

देव्यानीमाथि लागेका आरोपहरु खारेज गर्न भारतीय पक्षले गरेको आग्रह अमेरिकाले अस्वीकार गरेपनि भारतीय विदेशमन्त्री सलमान खुर्शिदले उक्त घटनाका बाबजुद उनकै शब्दमा दुई देशबीचको बहुमूल्य सम्बन्धलाई जोगाएर राख्नु महत्वपूर्ण हुनेछ।

खुर्शिदले उक्त घटना पीडादायक र अस्वकीर्य भएको बताएपनि यसको समाधानका उपायहरु खोजिनु जरुरी रहेको पनि उल्लेख गरे।

यसअघि अमेरिकी विदेशमन्त्री जन केरीले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननलाई फोन गरी घटनाप्रति खेद जनाएका थिए।

‘दुवै चुके’

Image caption अमेरिकी विदेशमन्त्री जन केरीले देव्यानी प्रकरण खेदजनक भएको बताएका थिए

आफ्नी घरेलु कामदारको भिसा विवरण गलत दिएको तथा कम तलब दिएको भन्दै देव्यानीलाई पक्राउ गरिएको थियो।

उनलाई हतकडी लगाइएको तथा उनलाई निर्वस्त्र पारी तलाशी गरिएको भन्दै भारतभर तीव्र आक्रोश फैलिएको थियो। यसै विषयमा अमेरिकी पूर्व विदेशमन्त्री पिटर जे क्राउलीले बीबीसी हिन्दीले प्रकाशित गरेको उनको टिप्पणीमा दुवै मुलुक यो घटनामा चुकेको उल्लेख गरेका छन्।

कूटनीतिज्ञको गिरफतारी सामान्य गिरफ्तारी जस्तो नहुने भन्दै उनले निर्वस्त्र तलाशी लिन थियो भने पनि त्यसलाई विशेष तौरतरिक अपनाउनु पर्ने बताएका छन्।

अर्कोतिर ती भारतीय कूटनीतिज्ञको मानवअधिकार रेकर्ड पनि राम्रो नरहेकोतर्फ उनले संकेत गरेका छन्।