थाइल्यान्डको विपक्षी दलले ‘चुनाव बहिष्कार गर्ने’

  • 21 डिसेम्बर 2013
Image caption प्रधानमन्त्री यिङ्लकले सत्ता शक्ति थाइ जनतालाई फर्काउन चुनावको घोषणा गरिएको बताएकी थिइन्

थाइल्यान्डको मूख्य विपक्षी दलले आगामी फेब्रुअरी महिनामा हुने भनिएको मध्यावधि निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ।

सो दल, डेमोक्र्याटिक पार्टीका नेता, अभिसित वेज्जाजिभाले एक पत्रकार सम्मेलनमा बोल्दै चुनावका लागि आफ्नो दलले उम्मेदवार नपठाउने बताए।

उनले भने, “थाइ राजनीति अहिले एउटा असफल चरणमा भएकोले हामीले त्यस्तो निर्णय लिएका हौं।

“थाइ जनताले प्रजातान्त्रिक प्रणालीमा विश्वास गुमाइसकेका छन्।“

हप्तौंको आम हड्ताल अन्त्य गर्ने प्रयासमा प्रधानमन्त्री यिङ्लक सिनावातले केही दिनअघि चुनावको घोषणा गरेकी थिइन्।

गृहयुद्धको चेतावनी

थाइ सेनाका प्रमुखले देशमा बढ्दै गएको राजनीतिक विभाजनले गृहयुद्ध निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

जनरल प्रायुथ चान ओचाले मतभिन्नता हटाउन एक जनसभाको गठन गर्न प्रस्ताव गरेका छन् जसमा सत्तारूढ तथा विपक्षी दलका नेता बाहेकका मानिसहरू को सहभागिता हुनेछ।

थाइल्यान्डमा सन् २०१० यताको सबैभन्दा गंभीर राजनीतिक संकट देखिएको छ।

प्रधानमन्त्री यिङ्लकले गत डिसम्बर नौ तारिखको दिन संसद विघटन गरी मध्यावधी चूनावको घोषणा गरेकी थिइन्।

उनले सडकमा चर्कंदै गएको हिंसा रोक्न र सत्ता शक्ति थाइ जनतालाई फर्काउन सो कदम चालिएको बताएकी थिइन्।

संसदमा उनको फिउ थाइ पार्टीको बहुमत छ र सो दललाई थाइल्यान्डको ग्रामिण क्षेत्रको ठूलो समर्थन रहेको छ।

फेब्रुअरी महिनामा चुनाव भए सो दल जित्ने स्थितिमा रहेको बताइएको छ।