विश्वकप ट्रफीसँग रमाए खेलप्रेमी

  • 21 डिसेम्बर 2013
Image caption ९१ देशमा यात्रा गरिरहेको ट्रफीलाई आईतबार भारत लगिने छ

नेपाली दर्शकहरुले लामो प्रतिक्षा गरेको विश्व फुटबलको निकै चर्चित विश्वकप ट्रफी शनिबार काठमाण्डूमा आइपुग्दा ट्रफी हेर्न दशरथ रंगशालामा दर्शकहरुको घुइँचो लागेको थियो।

विश्वको ९१ देशमा यात्रा गर्ने क्रममा पहिलोपटक नेपाल ल्याइएको त्यो सुनौलो ट्रफी फेरिफेरि आउने सम्भावना नभएकोले यस्तो दुर्लभ अवसरलाई नगुमाउन रंगशाला आएको उनीहरुले बताएका थिए।

उत्साह

राष्ट्रपति रामवरण यादवले विश्वकप फुटबलको सक्कली ट्रफी प्रदर्शन गर्दा दशरथ रंगशालामा झन्डै तीन घण्टादेखि प्रतिक्षा गरिरहेका दर्शकहरुले उत्साहका साथ ताली बजाएका थिए।

राष्ट्र प्रमुख र विश्वकप जित्ने टोलीका सदस्यले मात्र छुन पाउने नियम अनुसार ३ किलो ८ सय ग्राम सुनको सो ट्रफीलाई सार्वजनिक गर्दै राष्ट्रपति यादवले भने, "यो मुलुकको ईतिहासमा एउटा महत्वपूर्ण क्षण हो, विश्व खेलकुदको सबैभन्दा लोकप्रिय ट्रफी काठमाण्डूमा हेर्ने मौका पाएका छौं।"

राष्ट्रपति जस्तै विश्वकप ट्रफीलाई नांगो आँखाले प्रत्यक्ष हेर्न फुटबलमा कयौं वर्ष बिताएका खेलाडीहरु र पदाधिकारीहरु उत्सुक देखिएका थिए।

खेलाडीहरुलाई ट्रफीसंगै सामुहिक फोटो खिच्न दिइएको थियो।

सपना

राष्ट्रिय महिला टोलीका एक खेलाडी दिपा अधिकारीले भनिन्, "आफ्नो आँखाले यो ट्रफी देख्न पाउनु सपना जस्तो लागिरहेको छ, मलाई त अहिले पनि यो सक्कली जस्तो लागेको छैन।"

ट्रफी सिसाको शो केसभित्र राखिएको थियो र दर्शकहरुलाई टाढाबाट केही सेकेन्डमात्र हेर्ने ब्यवस्था गरिएको थियो।

सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो।

सन् १९७४ मा बनेको आधुनिक सुनको ट्रफी हेर्न झन्डै ३ हजार दर्शकको तांति लागेको थियो।

गुनासो

लामो लाइन लागेर बसेका दर्शकहरुमा साना उमेर समुहदेखि बुढा पाकासम्म थिए। कतिपयले ससाना नानीहरु च्यापेर आएको देखिएको थियो ।

तीनै मध्येका एक सुनिता खड्काले भनिन्, "कस्तो होला भनेर हेर्न र बाबुनानीलाई पनि खुसी बनाउन लिएर आएको।"

तर उत्साह सँगै व्यवस्थापनमा थुप्रै कमजोरी रहेको भन्दै कतिपय दर्शकहरुले गुनासो गरेका थिए।

ट्रफी हेर्न पोखराबाट आएका एक दर्शक विजय शाहीले भने, "फोटो पनि खिच्न पाईन्छ भनेर म फ्लाईटको खर्च गरेर यहाँ आए तर एक दुई सेकेन्ड मात्रै हेर्न पाएँ।"

विश्वकप ट्रफीको विश्वयात्रा गराउनुको उद्देश्य भनेको फुटबलको चर्चा अझ बढाउनु हो।