राजबन्दीहरुलाई सघाउन काम गर्नेछु: खादरकोफ्स्की

  • 22 डिसेम्बर 2013
खदरकोफ्स्की
Image caption खदरकोफ्स्कीले आफु प्रत्यक्ष राजनीतिमा संलग्न नहुने जनाएका छन्

गत शुक्रबार रुसस्थित एउटा जेलबाट रिहा गरिएका एकजना भूतपूर्व अर्बपति मिखाइल खादरकोफ्स्कीले भनेका छन्, "उनले रुसमा रहेका राजनीतिक बन्दीहरुलाई सघाउन आफुले सक्दो काम गर्नेछन्।"

बर्लिनमा भेला भएका दर्जनौं पत्रकारहरु सामु बोल्दै उनले भने, “रुसी राष्ट्रपतिका प्रवक्ता पेस्कोभले म कुनै पनि बेला रुस फर्कन सक्ने बताएका छन्। तर दुखको कुरा यदि म फर्कें भने फेरि मलाई रुस छाडन दिइने कुनै प्रत्याभूति छैन। मेरो अहिलेको प्राथमिकता भनेको आफ्नो पारिवारिक मामिला सुल्झाउनु हो।“

उनले उनलाई रिहा गराउन सघाएको भन्दै जर्मन चान्सलर एङ्गेला मर्केल तथा भूतपूर्व जर्मन विदेश मन्त्री हान्स डायट्रिच गेन्सरलाई धन्यवाद पनि दिए।

राजनीति

यसअघि खादरकोफ्स्कीले आफु फेरि राजनीतिमा नफर्कने र भङ्ग गरिएको उनको तेल कम्पनी युकोसको सम्पत्ती फिर्ता पाउन कानुनी लडाईं पनि नलडने जनाएका थिए।

धोखाधडी तथा कर छलीको आरोपमा खादरकोफ्स्कीले दश वर्ष भन्दा बढी समय रुसी जेलहरुमा बिताएका थिए।

तर उनले आफु निर्दोष रहेको भन्दै ती अभियोगहरु राजनीति प्रेरित रहेको बताएका थिए।

राष्ट्रपति भ्लादिमिर पुटिनले मानवीय आधारमा आफ्ना भूतपूर्व राजनीतिक प्रतिद्वन्द्वीलाई क्षमादान दिने एउटा आदेशमा हस्ताक्षर गरेपछि उनी रिहा गरिएका थिए।

क्षमादान

राष्ट्रपति पुटिनले खादरकोफ्स्कीले आफ्नी आमा बिरामी भएकीले क्षमादान मागेको बताएका थिए।

उनले यसअघि खादरकोफ्स्कीले कानुन बमोजिम क्षमादानकालागि अपील नगरेकाले पनि उनलाई क्षमादान नदिइएको बताएका थिए।

पक्राउ पर्ने बेला राजनीतिक महत्वाकांक्षा बोकेका तथा रुसी सरकारका कट्टर आलोचक खादरकोफ्स्की रुसका सबैभन्दा धनी व्यक्ति थिए।

उनले विपक्षी दलहरुलाई आर्थिक सहायता गरेपछि युकोस तेल कम्पनीका मालिक खादरकोफ्स्की विरुद्ध कर छली तथा कम्पनीको रकम अपचलन गरेको अभियोग लगाइएको थियो।

त्यसो त कतिपय रुसीहरु मानवीय आधारमा मात्रै राष्ट्रपति पुटिनले आफ्ना भूतपूर्व प्रतिद्वन्द्वीलाई क्षमादान दिएको भन्ने ठान्दैनन्।

विश्लेषकहरु भन्छन्, रुसमा मानव अधिकारको स्थितिबारे बढिरहेको अन्तर्राष्ट्रिय आलोचनालाई ध्यानमा राखेर पनि त्यस्तो निर्णय लिइएको हुनसक्छ।