प्रहरी अधिकारीमाथि भ्रष्टाचारको मुद्दा

  • 22 डिसेम्बर 2013
Image caption अख्तियारले एकजना बहालवाला उच्च प्रहरी अधिकारी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलो रकमको भ्रष्टाचारमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीका वरिष्ठ उपरिक्षक (एसएसपी) प्रेमबहादुर चन्दविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अञ्चल प्रहरी कार्यालय बाग्मतीका लागि जग्गा खरिद गर्दा १ करोड ७९ लाख रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले चन्दलगायत अन्य तीनजना जग्गाधनीविरुद्ध मुद्दा दायर गरेको हो।

जग्गाधनीहरुबीच २०६६ सालको माघ अन्तिम साता दुई पटक गरी करीब २० लाख रुपैँयामा खरीदबिक्री भएको जग्गा चन्दले ३ महिना २० दिनपछि करीब २ करोडमा खरीद गरेर सरकारलाई १ करोड ८० लाख रुपैँया हानी नोक्सानी पु-याइ भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको छ।

ठूलो रकम

अख्तियारका प्रवक्ता श्रीधर सापकोटाकाले प्रहरीमा एकजना व्यक्तिमाथि भ्रष्टाचारको आरोप लगाइकोमध्ये यो सम्भवत: अहिलेसम्मको ठूलो रकम भएको बताए।

उनले भने, "यसअघि सुडान प्रकरण र पेट्रोल पम्पसम्बन्धी भ्रष्टाचारको मुद्दा ठूलो रकमको भए पनि प्रहरीमा एक जनामाथि लगाइएको यो मुद्दालाई नै सबैभन्दा ठूलो मान्नुपर्छ।"

निलम्बन

अख्तियारले मुद्दा दायर गरेसँगै चन्द पदबाट स्वत: निलम्बन हुने कानुनी व्यवस्था छ।

विशेष अदालतका प्रवक्ता नातिबाबु लामिछानेले भने अख्तियारको अभियोगपत्रमा एसएसपी चन्द फरार रहेको उल्लेख गरिएको जनाए।

लामिछानेले सोमबार म्याद तयार गरी आरोपीहरुलाई पठाइने पनि बताए।

अख्तियारले एसएसपी चन्दलाई १० वर्ष कैद सजाय र बिगो १ करोड ७९ लाख ८२ हजार ८ सय ९६ रुपैँया र त्यति नै जरिवानाको माग गरेको छ।

काठमाडौंस्थित बीबीसीका एकजना संवाददाता भन्छन्, कानुनको राज्य कायम गर्न प्राथमिक भूमिका खेल्ने प्रहरीहरुमाथि नै बारम्बार भ्रष्टाचारको अभियोग लाग्नु दूर्भाग्यजनक देखिन्छ।