रुसी साँगीतिक समूहका सदस्यहरु रिहा

  • 23 डिसेम्बर 2013
पुसी रायट व्याण्डका सदस्यहरु
Image caption पुसी रायट व्याण्डका सदस्यहरुले रुसी गिर्जाघरले राष्ट्रपति पुटिनको समर्थन गरेको भन्दै विरोध जनाएका थिए

रुसमा गत बर्ष मस्कोस्थित मुख्य गिर्जाघरमा साँगीतिक विरोध जनाएपछि हुलदङ्गा गरेको आरोपमा पक्राउ गरिएका रुसी साँगीतिक समूह पुसी रायटका दुईजना सदस्यहरुलाई रिहा गरिएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता घोषणा गरेको क्षमादान अन्तर्गत मारिया अलेखिना तथा नादेझ्दा तोलोकोनिकोभालाई सोमबार रिहा गरिएको हो।

नादेझ्दालाई साइबेरियास्थित एउटा जेलको अस्पतालबाट र मारियालाई निझ्भी नोभोगोरोदस्थित अर्को जेलबाट रिहा गरिएको थियो।

छवि

तर ती दुबैले आफुहरुको रिहाइलाई रुसको सोचीमा हुन लागेको हिउँदे ओलम्पिक अघि रुसी सरकारले आफ्नो छवि सुधार्न चालेको कदम भन्दै त्यसलाई महत्व दिन अस्वीकार गरेका छन्।

बीबीसीसँग कुरा गर्दै नादेझ्दाका पति प्योत्र भर्जिलोभले भने, "गएको दुई बर्षमा जेलमा उनीहरुले हासिल गरेको कुरा भनेको राष्ट्रपति पुटिनको सत्ता विरुद्ध अरु बढी सँघर्ष गर्ने आत्म विश्वास नै हो, किनभने त्यसबाट मात्र हाम्रेा देशमा परिवर्तन ल्याउन सकिन्छ।"

पुसी रायट साँगीतिक समूहका दुबै जना सदस्यहरुको जेल सजाय आउँदो मार्च महिनामा पुरा हुँदै थियो।

तर गत साता रुसी संसद डुमाले झण्डै बीस हजार बन्दीहरुलाई आम माफी दिने संबन्धी एउटा विधेयक पारित गरेपछि उनीहरुको रिहाइको ढोका खुलेको थियो।

आउँदो फेब्रुअरी महिनामा ब्ल्याक सी स्थित रुसी नगर सोचीमा हुन लागेको हिउँदे ओलम्पिक अघि रुसको मानव अधिकार स्थितिका बारेमा भैरहेको आलोचनालाई मथ्थर पार्न ती रिहाइहरु गरिएको धेरैले ठानेका छन्।

सोमबार अपरान्ह साइबेरियास्थित एउटा जेलको अस्पतालबाट रिहा गरिएपछि नादेझ्दाले 'पुटिन विनाको रुस', 'पुटिन विनाको रुस' भन्ने नाराहरु लगाएकी थिइन्।

उनकी साथी मारियाले पनि आफ्नो रिहाइबाट राष्ट्रपति पुटिनप्रतिको आफ्नो धारणा नबदलिएको बताइन्।

उनले भनिन्, “यदि मैले यो आम माफी अस्वीकार गर्न मिल्ने भए मैले अवश्य नै त्यसो गर्ने थिएँ।”

रिहा

सोही साँगीतिक समूहकी अर्की सदस्य याकातेरिना सामुसेभिचले पुनरावेदन गरेपछि गत अक्टोबर २०१२ मा उनलाई रिहा गरिएको थियो।

यसअघि गत शुक्रबार एकजना भूतपूर्व रुसी अर्बपति मिखाइल खादरकोफ्स्कीलाई पनि जेलबाट रिहा गरिएको थियो।

राष्ट्रपति पुटिनले मानवीय आधारमा आफ्ना भूतपूर्व राजनीतिक प्रतिद्वन्द्वीलाई क्षमादान दिने एउटा आदेशमा हस्ताक्षर गरेपछि उनी रिहा भएका हुन्।

रिहा भए लगत्तै जर्मनी पठाइएका खादरकोफ्स्कीले आफु फेरि राजनीतिमा नफर्कने र भङ्ग गरिएको उनको तेल कम्पनी युकोसको सम्पत्ती फिर्ता पाउन कानुनी लडाईं पनि नलडने जनाएका थिए।

धोखाधडी तथा कर छलीको आरोपमा खादरकोफ्स्कीले दश वर्ष भन्दा बढी समय रुसी जेलहरुमा बिताएका थिए।

तर उनले आफु निर्दोष रहेको भन्दै ती अभियोगहरु राजनीति प्रेरित रहेको बताएका थिए।