दक्षिण सुडानमा "जातिय सफाया" को विवरण

  • 24 डिसेम्बर 2013
राष्ट्र संघीय महासचिव बान की मून
Image caption राष्ट्रसंघीय महासचिवले युद्धरत पक्षलाई युद्ध अपराधमा दोषी ठहर गर्न सकिने चेतावनी दिएका छन्

दक्षिण सुडानबाट प्राप्त विवरणहरुका अनुसार त्यहां गत हप्ता मच्चिएको गुटगत हिंसाले सामुहिक जातिय सफाया भन्न सकिने खालको अत्याचारका घटनाहरु चर्काएको छ।

राजधानी जुबास्थित एकजना पत्रकारले, तीनजना प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जनाए अनुसार त्यहां आम नरसंहारका घटनाहरु भैरहेका छन्।

एउटा घटनामा जातिय नुयर समुदायका दुईसयजना भन्दा बढी मानिसहरुलाई एउटा प्रहरी चौकीमा थुनेर सुरक्षा सै‌न्यहरुले गोलीहानी मारिदिएका थिए।

ति पत्रकार हाना मकनेइशले भनिन्, “मारिनेहरुमा धेरैजसो देशको दोस्रो ठूलो जातिय समुदाय नुयर का हुन् जो सबैभन्दा ठूलो डिन्का समुदायकाहरुसंग लडाईं गरिरहेका छन्।

“राष्ट्रपति डिन्का समुदायका हुन् र उनका भूतपूर्व उपराष्ट्रपति नुयर समुदायका।“

विद्रोही नियन्त्रीत क्षेत्रहरुबाट पनि अत्याचारका विवरणहरु आइरहेका छन्।

राष्ट्र संघ संयुक्त राष्ट्र संघका महासचिव बान की मुनले भनेका छन्, दक्षिण सुडानका बरिष्ठ नेताहरुलाई त्यहां भएका मानवअधिकार हनन र युद्ध अपराधका घटनाहरुका लागि जिम्मेवार ठहर गर्न सकिनेछ।

महासचिव बानले दक्षिण सुडानको अवस्था कमजोर हुदै भएको भन्दै राष्ट्रपति साल्भा किइर र विपक्षीहरुलाई वार्ताका निम्ति आह्वान गरेका छन्।

Image caption राष्ट्रपति साल्भा किइरले विना शर्त विद्रोहीहरुसंग वार्ता गर्न आफूहरु तयार रहेको बताएका जनाइएको छ

संयुक्त राष्ट्र संघका महासचिव बान की मुनले दक्षिण सुडानमा युद्धरत सबैपक्षलाई विश्वले नियाली रहेको बताएका छन्।

उनले, जातिय भिन्नताका आधारमा मानिसहरुलाई मारिएको भन्ने विवरणहरु विशेष चिन्ताजनक भएको भन्दै गैरसैनिक तथा शान्ति स्थापकहरु माथिको आक्रमणलाई तत्काल रोक्न पनि माग गरेका छन्।

शरणार्थी

संयुक्त राष्ट्रसंघले आफ्ना कार्यालयहरुमा शरण लिइरहेका झण्डै ४५ हजार मानिसहरुको आधारभूत आवश्यकता परिपूर्ति गर्न गाह्रो भैरहेको बताएको छ।

उनले दक्षिण सुडान स्थित राष्ट्रसंघीय मिसनमा सघाउन थप पांचहजार शान्ति स्थापनक सैन्य र अन्य सामग्रीहरु आवश्यकता परेको बताएका छन्।

यसअघि, दक्षिण सुडानका लागि संयुक्त राज्य अमेरिकाका विशेष दूत डोनल्ड बूथले सोमबार राष्ट्रपति साल्भा किइरसंग भेट गरेका थिए।

उनले राष्ट्रपति किइर भूतपूर्व उपराष्ट्रपति संग वार्ता गर्न तयार रहेको तर त्यसका लागि कुनै पूर्व शर्त हुन नहुने बताएका जनाएका छन्।

तर राष्ट्रपति किइरको त्यस्तो प्रतिबद्धताले हालका लागि वार्ताको सम्भावनालाई नजीक ल्याउला जस्तो देखिएको छैन।

Image caption भूतपूर्व उपराष्ट्रपति रिएक मासारले वार्ताअघि आफ्ना समर्थकहरु मुक्त हुनु पर्ने माग गरेका छन्

वार्ता

भूतपूर्व उपराष्ट्रपतिले, थुनामा राखिएका आफ्ना सबै राजनीतिक समर्थकहरुलाई मुक्त गरिएमात्र आफू वार्तामा बस्ने बताएका छन्।

उनका १० जना सहयोगीहरुलाई गत हप्ता लडाईं शुरु हुने वित्तिकै पक्राउ गरिएको थियो।

भूतपूर्व उपराष्ट्रपति मासार संगै तिनीहरुलाई पनि राष्ट्रपति किइरलाई सत्ताच्यूत गर्ने प्रयास गरेको अभियोग लगाइएको छ, जुन अभियोगलाई तिनीहरुले अस्वीकार गरेका छन्।

अमेरिकी विशेष दूत डोनल्ड बूथले तिनीहरुसंग भेटघाट गरेपछि, तिनीहरुको अवस्था ठीकठाक रहेको बताएका थिए।