दक्षिण सुडानमा बढ्दो हिंसा : राष्ट्र संघ चिन्तित

  • 24 डिसेम्बर 2013
Image caption दक्षिण सुडानको हिंसाले सामुहिक जातीय सफाया भन्न सकिने खालको अत्याचारका घटनाहरुलाई चर्काएको छ

दक्षिण सुडानमा राष्ट्रपति साल्भा किइरप्रति वफादार सैन्य र उनका भुतपूर्व सहायक रिएक मासारको समर्थन गर्ने सैनिकहरु बीचको संघर्षले एउटा बृहत जातीय हिंसाको रुप लिइ राखेको बताइन्छ।

उक्त हिंसाले सामुहिक जातीय सफाया भन्न सकिने खालको अत्याचारका घटनाहरुलाई चर्काएको छ।

राजधानी जुबास्थित एकजना पत्रकारले, तीनजना प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जनाए अनुसार त्यहां आम नरसंहारका घटनाहरु भैरहेका छन्।

एउटा घटनामा जातीय नुयर समुदायका दुईसय भन्दा बढी मानिसहरुलाई एउटा प्रहरी चौकीमा थुनेर सुरक्षा सै‌न्यहरुले गोलीहानी मारिदिएका थिए।

पत्रकार हाना मकनेइशले भनिन्, “मारिनेहरुमा धेरैजसो देशको दोस्रो ठूलो जातिय समुदाय नुयरसित सम्बद्ध छन्, जो सबैभन्दा ठूलो डिन्का समुदायसंग लडाईं गरिरहेका छन्।”

दक्षिण सुडानका राष्ट्रपति डिन्का समुदायका हुन् भने उनका भूतपूर्व उपराष्ट्रपति नुयर समुदायका हुन्।

विद्रोही नियन्त्रीत क्षेत्रहरुबाट पनि अत्याचारका विवरणहरु आइरहेका छन्।

तर बिदेश मन्त्री बार्नबा बेन्जामिनको भनाईमा केही हत्याहरु भएका हुन सक्छन् तर समाचारमा आई राखेको जति संख्यामा चाहीं होईन।

राष्ट्र संघको चिन्ता संयुक्त राष्ट्र संघका महासचिव बान की मुनले भनेका छन्, दक्षिण सुडानका बरिष्ठ नेताहरुलाई त्यहां भएका मानवअधिकार हनन र युद्ध अपराधका घटनाहरुका लागि जिम्मेवार ठहर गर्न सकिनेछ।

महासचिव बानले दक्षिण सुडानको अवस्था कमजोर हुदै गएको भन्दै राष्ट्रपति साल्भा किइर र विपक्षीहरुलाई वार्ताका निम्ति आह्वान गरेका छन्।

राष्ट्रपति साल्भा किइरले विना शर्त विद्रोहीहरुसंग वार्ता गर्न आफूहरु तयार रहेको बताएका जनाइएको छ।

भूतपूर्व उपराष्ट्रपति रिएक मासारले वार्ताअघि आफ्ना समर्थकहरु मुक्त हुनु पर्ने माग गरेका छन्।

महासचिव बानले दक्षिण सुडानमा युद्धरत सबैपक्षलाई विश्वले नियाली रहेको बताएका छन्।

उनले, जातीय भिन्नताका आधारमा मानिसहरुलाई मारिएको भन्ने विवरणहरु विशेष चिन्ताजनक भएको भन्दै गैरसैनिक तथा शान्ति स्थापकहरु माथिको आक्रमणलाई तत्काल रोक्न पनि माग गरेका छन्।

कठिन मोड

अफ्रिकाको सबभन्दा लामो गृहयुद्ध अन्त्य हुने गरी सन् २००५ मा भएको शान्ती सहमति मुताबिक सन् २०११ को जुलाई ९ तारीखमा दक्षिण सुडानले सुडानबाट स्वतन्त्रता हासिल गरेको थियो।

यो नयाँ राष्ट्रलाई सुडानको धेरै तेल भण्डार प्राप्त भए पनि खार्तुमसित जारी बिवाद, आर्थिक बिकासको अभाव र अहिले चली राखेको जातीय द्वन्दले एउटा कठिन मोडमा ल्याइ पु-याएको छ।