टर्कीका तीन मन्त्रीहरुद्वारा राजीनामा

  • 25 डिसेम्बर 2013
टर्कीका प्रधानमन्त्री
Image caption प्रधानमन्त्री अर्दोआनले देश बाहिर रहेका शक्तिहरुले षडयन्त्र गरिरहेको आरोप लगाएका छन्

टर्कीमा सरकारी स्वामित्वको बैङ्कमा भ्रष्टाचारको एउटा ठूलो प्रकरणमा आफ्ना छोराहरु पक्राउ परेपछि तीनजना सरकारी मन्त्रीहरुले तिनका पदबाट राजीनामा दिएका छन्।

पद त्याग गर्नेहरुमा अर्थ मन्त्री जाफेर चालायान, गृह मन्त्री मुअम्मर गुलेर तथा वातावरण एवम् शहरिकरण मन्त्री अर्दोआन बेरक्तार छन्।

घुस लिएको वा घुस लिन सघाएको आरोपमा ओपचारिकरुपमा छानबीनको दायरामा राखिएका चौबीस जना मध्ये दुई जना वरिष्ठ मन्त्रीका छोराहरु पनि छन्।

व्यक्तिगतरुपमा कुनै अभियोग नखेपेका ती तीनैजना मन्त्रीहरुले आफ्ना छोराहरु निर्दोष भएको बताएका छन्।

टर्कीका प्रधानमन्त्री रेजेप तायिप अर्दोआनले ती छानबीनहरुलाई उनको सरकार विरुद्धको एउटा फोहर कारवाही भन्दै तिनको निन्दा गरेका छन्।

छानबीन

छानबीनको दायरामा परेका हरुमध्ये सरकारी स्वामित्वको हाकबैङ्कका प्रमुख पनि छन्।

पूर्व अर्थमन्त्री चालायानले छानबीनलाई एउटा नीच काम भन्दै त्यसको निन्दा गरे।

प्रधानमन्त्री अर्दोआनले आफ्नो सरकारको मानमर्दन गर्न उक्त छानबीनलाई प्रयोग गर्ने प्रतिद्वन्द्वीहरुको हातै भाँचिदिने चेतावनी दिएका छन्।

चालायानका छोरा कान तथा पूर्व गृहमन्त्रीका छोरा बरिस गुलेर दुबैले शहरी विकास परियोजना तथा निर्माण अनुमति दिने प्रकरणमा आफुहरुको कुनै संलग्नता नभएको जनाएका छन्।

प्रहरीले धरपकड शुरु गरेको प्रतिकृया स्वरुप सरकारले इस्तान्बुलका प्रहरी प्रमुख तथा अरु कैयौं प्रहरी आयुक्तहरुलाई तिनका पदबाट हटाएको छ।

आरोप

अर्थमन्त्रीले आफ्नो वक्तव्यमा योजनावद्धरुपमा प्रहरीले छापा मारेको आरोप लगाए।

गृह मन्त्रीले चाहिं उनका छोरा सरकारी अधिकारी नभएकाले घुसखोरीको अभियोगमा उनलाई पक्राउ गर्ने कुनै कानुनी आधार नभएको बताएका थिए।

प्रधानमन्त्री अर्दोआनसँग पाकिस्तानको भ्रमण सकेर अर्थमन्त्री चालायान मँगलबारमात्रै राजधानी अङकारा फर्केका थिए।

उनीहरुलाई स्वागत गर्न एसेनवोगा विमानस्थलमा ठूलो भीड जम्मा भएको थियो।

विपक्षी दलहरुले ती दुबै मन्त्रीहरुको राजीनामाको माग गरेका थिए।

गत आइतबार इस्तान्बुलमा सरकार विरोधी प्रदर्शनहरु आयोजना गरिएका थिए।

इस्लामवादी आधार भएको एके पार्टीको प्रमुखको रुपमा अर्दोआनले गएको एघार वर्षदेखि टर्कीमा सरकारको नेतृत्व गरिरहेका छन्।

झगडा

टिप्पणीकारहरु भन्छन्, सरकारसँग संबन्धित व्यक्तित्वहरुको गिरफ्तारी र त्यसपछि प्रहरी अधिकारीहरुको बर्खास्तगी सत्तारुढ दलभित्रको आन्तरिक झगडाकै अंश हुन्।

हाल अमेरिकामा निर्वासित जीवन बिताइरहेका एकजना इस्लामिक विद्वान फेतुअल्लाह गुलेनलाई प्रधानमन्त्री अर्दोआनको प्रतिद्वन्द्वीको रुपमा हेरिन्छ र उनको हिजमत आन्दोलनका समर्थकहरु न्यायालय तथा प्रहरीमा पनि छन्।

अर्दोआन आफैले पनि टर्की बाहिर रहेका शक्तिहरुले षडयन्त्र गरिरहेको जनाएका छन्।

हाकबैङ्कका प्रमुख विरुद्ध घुस लिएको अभियोग लगाइएको छ।

टर्कीबाट प्रकाशित समाचारपत्रहरुले उनको घरमा जुत्ता राख्‍ने डिब्बाहरुभित्र झण्डै पैंतालिस लाख डलर बराबरको नगद भेटिएको जनाएका छन्।

सरकारले उक्त प्रकरण पछि उक्त बैंकको बजार भाउ एक अर्ब डलर भन्दा बढीले घटेको जनाएको छ।