दक्षिण सुडानको तेल धनी क्षेत्रमा भिडन्त चर्कंदो

  • 27 डिसेम्बर 2013
दक्षिण सुडानका शरणार्थीहरु
Image caption भिडन्तबाट जोगिन हजारौं दक्षिण सुडानबासीहरु सुरक्षित आश्रयस्थलको खोजीमा रहेका छन्

दक्षिण सुडानमा सरकारी र विद्रोही सैन्यहरुबीच जारी भिडन्त देशको महत्वपूर्ण तेलधनी क्षेत्रहरुमा चर्किरहेको छ।

उत्तरी माथिल्लो नाइल प्रदेशको राजधानी मालाकलमा भिडन्त भैरहेको छ भने अर्को तेल उत्पादक युनिटी प्रदेशको मुख्य शहर बेनटिउलाई विद्रोहीहरुको कब्जाबाट आफ्नो नियन्त्रणमा लिन सरकारी सेनाले तयारी गरिरहेको बताएको छ।

कब्जा

देशको उत्तरमा महत्वपूर्ण तेलधनी क्षेत्रहरुको नियन्त्रणका लागि भिडन्त भैरहंदा, सरकारले केहि तेलखानीहरु विद्रोही सैन्यले कब्जामा लिएको बताएको छ।

दक्षिण सुडानको अर्थतन्त्रको ठूलो भाग तेल निर्यातबाट हुने आम्दानीमा निर्भर छ।

र त्यहांको द्वन्द्वले दक्षिण सुडानबाट केन्याको बन्दरगाह शहर लामुसम्म तेल निर्यात गर्न पाइप लाइन बनाउने योजना ढिलो हुने चिन्ता बढेको छ।

देशको उत्तरमा अवस्थित ति तेल उत्पादक क्षेत्रहरुमा भिडन्त भैरहंदा, दक्षिण सुडानमा गत १२ दिन देखि चर्कीएको हिंसात्मक द्वन्द्वका दुवै पक्षमाथि हतियार विसाउन अन्तर्राष्ट्रिय दबाब बढेको छ।

सिर्जनात्मक

इथियोपीया र केन्याका नेताहरुले दक्षिण सुडानका राष्ट्रपति साल्भा किइरसंग भेटेर संकट समाधानको उपायका बारे छलफल गरेका छन्।

उक्त वार्तालाई सिर्जनात्मक भएको भनिएको छ।

Image caption दक्षिण सुडानका राष्ट्रपतिसंग केन्याका राष्ट्रपति र इथियोपीयाका प्रधानमन्त्रीले भेटवार्ता गरेका छन्

तर विद्रोहको नेतृत्व गरिरहेका राष्ट्रपतिका विरोधी, रिएक मासारसंग भएको सम्पर्कका बारे कुनै जानकारी प्राप्त भएको छैन।

दक्षिण सुडानका निम्ति राष्ट्रसंघीय विशेष प्रतिनिधि हिल्डे जोनशनले, त्यहांको संकटको स्तरले पहिले नै दबाब झेलिरहेको राष्ट्रसंघीय मिसनका सामु बढी चुनौती थपीएको बताएकि छिन्।

राष्ट्र संघले आगामी ४८ घण्टा भित्र दक्षिण सुडानमा थप सैनिक र उपकरणहरु पठाउने बताएको छ।

त्यहां रहेका राष्ट्रसंघीय कार्यालय परिसरहरुमा दशौं हजार मानिसहरुले शरण लिइरहेका छन्।