केजरीवाल दिल्लीको मुख्यमन्त्री

  • 28 डिसेम्बर 2013
Image caption आम आदमी पार्टीको जीतले भ्रष्टाचार नियन्त्रण हुने धेरैले अपेक्षा गरेका छन्

भारतको आम ‍आदमी पार्टीका नेता अरविन्द केजरीवालले दिल्लीस्थित ऐतिहासिक रामलीला मैदानमा दिल्लीको नयाँ मुख्यमन्त्रीका रुपमा शनिबार सपथ ग्रहण गरेका छन्।

उनी दिल्लीको मुख्यमन्त्री बन्ने सातौ व्यक्ति हुन्। सपथ ग्रहण गर्न उनी रेल चढेर पार्टी कार्यालयबाट रामलीला मैदान पुगेका थिए। उनलाई उपराज्यपाल नशीब जंगले सपथ खुवाएका हुन। केजरीवालसँगै विधायकहरु मनिष सिसोदिया, सोमनाथ भारती, सत्येन्द्र जैन, कुमारी राखी बिरला, गिरिश सोनी र सौरभ भारद्वाजले सपथ खाएका छन्। सपथपछि केजरीवालले भने, ''आम मानिसको जीत भएको छ। यो सपथ खासमा दिल्लीका जनताले लिएका छन्। यो प्रकृतिको देन हो।दुई वर्ष पहिले हामीले यो लडा‍ई जित्नेछौं भनेर सोचेका पनि थिएनौं।'' उनले आफूले एक्लै यो लडाई जित्न नसक्ने बताएका छन्।

जादुको छडि

उनले आफूहरुसँग सबै समस्याको समाधान वा जादुको कुनै छडि नभएको उल्लेख गरेका छन्।

तर दिल्लीका जनतासँग मिलेर दिल्लीको समस्या समाधान गर्न सकिने उनले जनाएका छन्। अन्ना हजारे र दुई वर्षअघिको उनको आन्दोलनको चर्चा गर्दै केजरीवालले राजनीतिमा प्रवेश नगरि राजनीतिक फोहोर सफा गर्न नसकिने अन्नालाई बताएको उल्लेख गरेका छन्। उनले आजको दिनलाई ऐतिहासिक दिनको संज्ञा दिएका छन्।

अपेक्षा सो अवसरमा केजरीवालले सरकारी अधिकारीहरुबाट सहयोगको अपेक्षा समेत गरेका छन्। रामलीला मैदानबाट बीबीसी संवाददाता जुबैर अहमदले सपथ ग्रहणका बेला ठूलो संख्यामा मानिसहरुको भीड थियो र पार्टीका समर्थकहरुले आम पार्टीको टोपी लगाएका थिए। केजरीवालको गाउँबाट धेरै मानिसहरु आएको र आउने क्रम जारी छ। बीबीसी संवाददाताका अनुसार त्यहाँ उपस्थित मानिसहरुले त्यति भीड स्वतन्त्रता दिवस १५ अगस्त र गणतन्त्र दिवस २६ जनवरीमा पनि नहुने गरेको बताएका छन्।

मेट्रो चढेर सपथमा

केजरीवालसँगै मन्त्री पदको सपथ लिन उक्त पार्टीका अन्य ६ जना विधायक मेट्रो चढेर रामलीला मैदान पुगेका थिए। भ्रष्टाचारविरोधी अभियानबाट जन्मेको आम आदमी पार्टीले निर्वाचनमा सत्तारुढ कंग्रेस आइलाई पछार्दै शानदार राजनीतिक यात्रा शुरु गरेको छ। विधानसभा निर्वाचनमा २८ सीट जितेको आम आदमी पार्टीले कंग्रेस आइको समर्थनमा अल्पमतको सरकार बनाउँदैछ। ३२ सीटमा जित हासिल गरेको भारतीय जनता पार्टीले पर्याप्त बहुमत नभएको भन्दै सरकार बनाउन नसक्ने बताएको थियो।

आम जनता मुख्यमन्त्री

सपथ ग्रहण समारोहमा केजरीवालले आफू नभई दिल्लीका आम जनता मुख्यमन्त्री बनेको बताएका छन्। सन् २०१० मा शुरु भएको भ्रष्टाचारविरोधी अभियानका क्रममा ठूला ठूला र्यालीहरुको आयोजना रामलीला मैदानमै गरिएको थियो।