युद्धविराम अघि वार्ता हुनुपर्छ: दक्षिण सुडानका विद्रोही नेता

  • 28 डिसेम्बर 2013
दक्षिण सुडानमा विस्थापितहरु
Image caption लडाईंका कारण करीब सवा लाख मानिसहरु विस्थापित भइसकेका छन्।

दक्षिण सुडानका विद्रोही नेता रीयक मचारले, सरकारबाट प्रस्तावित भनिएको युद्धविरामका निम्ति, पहिले वार्ता गरिनुपर्ने जनाएका छन्।

पूर्व उपराष्ट्रपति मचारले बीबीसीसंग कुरा गर्दै, कुनै पनि युद्धविराम गम्भीर, विश्वसनीय अनि उचित ढंगले अनुगमन गरिएको हुनुपर्ने बताए।

“युद्धविराम भनेको दुई पक्षको प्रतिनिधिबीचको वार्ताले तय गर्ने हो। तिनले युद्धविरामको अनुगमन गर्ने संयन्त्र तयार पार्छन। ताकि युद्धविराम विश्वसनीय हुन सकोस्,” विद्रोही नेता मचारको भनाई।

रिहा

लडाईं शुरु भएपछि गिरफ्तार गरिएका दुई राजनीतिज्ञलाई सरकारले रिहा गरिदिएको छ।

शान्ति वार्ता अघि पक्राउ परेका सबै एघारजना नेतालाई छाडिनुपर्ने, माचारले बताए।

यसअघि, पूर्वी अफ्रिकाको क्षेत्रीय संगठन आइजीएडीले, राष्ट्रपति साल्भा किरको सरकार द्वन्द्व अन्त गर्न प्रतिबद्ध रहेको, र विपक्षमा रहेका उनका पूर्व उपराष्ट्रपतिलेपनि, त्यसै गर्नुपर्ने उल्लेख गरेको छ।

सरकारले तत्काल द्वन्द्व अन्त गर्न तयार रहेको जनाएपछि, उनको सो प्रतिक्रिया आएको हो। सरकारको प्रस्तावलाई, पूर्वी अफ्रिकि देशका नेताहरुले स्वागत गरेका छन्।

लडाईं

माथिल्लो नाइल राज्यमा अवस्थित तेल खानी रहेको शहर मालाकलमा शुक्रबारपनि लडाईं जारी रह्यो।

राष्ट्रसंघीय परिसरमा शरण लिन आएका गैरसैनिकहरुलाई नियन्त्रण गर्न सघाउन शान्ति स्थापकहरुको पहिलो डफ्फा पुगेको छ।

करीब ६३ हजार मानिसहरु राष्ट्रसंघसंग शरण माग्न पुगेका छन्।

संसारको सबभन्दा नयाँ देश दक्षिणी सुडानमा हालै भएका लडाईंका कारण करीब सवा लाख मानिसहरुले घर छाडि भागेका छन्।

एक हजार जनाको ज्यान गइसकेको छ।

राष्ट्रपति साल्भा किर उनकै पूर्व उपराष्ट्रपति रहेका विद्रोही नेता रीयक मचारसंग भीषण शक्ति संघर्षमा होमिएका छन्।

राष्ट्रपति किरको डिन्का जाति र मचारको न्वेर जाति दुवै समुदायका मानिसहरु द्वन्द्वमा परेका छन्।