एमाओवादीको केन्द्रिय समितिले सभासदको टुंगो लगाउने

  • 29 डिसेम्बर 2013
प्रचण्ड
Image caption चुनावी पराजयलाई लिएर नेतृत्वको जिम्मेवारीबारे बहस पार्टिभित्र छेडिएको छ

चुनावमा प्रतिकुल परिणाम आएपछि रुष्ट बन्दै आएको एकीकृत नेकपा माओवादीले निर्वाचन परिणाम तथा पार्टि संगठनको समीक्षा गर्ने उद्देश्यले आईतबारदेखि केन्द्रिय समितिको बैठक डाकेको छ।

चुनावपछि दोस्रोचोटि बस्न लागेको उक्त बैठकले खासगरी समानुपातिकतर्फ पार्टि सभासद चयन गर्ने बताइएको छ।

यदि बैठक लम्बिए निर्वाचनमा भएको पराजयप्रति पार्टि नेतृत्वको जिम्मेवारीको विषयमा पनि रस्साकस्सीपूर्ण छलफल हुने ठानिएको छ।

योजना

धाँधली भएको भन्दै शुरुमा संविधानसभामै प्रवेश नगर्ने मनस्थितिमा रहेको एकीकृत नेकपा माओवादीले हाल आएर उक्त नीतिमा पूरै परिवर्तन गरेको छ।

उसले समानुपातिक तर्फ विजेता सभासदको सूची आईतबारकै बैठकमार्फत अनुमोदन गराएर निर्वाचन आयोगमा बुझाउने योजना बनाएको छ।

तर बैठकका अन्य विषय भने निर्वाचनमा देखिएको अप्रत्याशित नतीजाको लेखाजोखा गर्नु रहने नेताहरुको भनाई छ।

यसअघि ९ गते डाकिएको बैठक २१ गतेलाई सारिएको थियो। तर समानुपातिकको सूची अनुमोदन गर्नाका निम्ति त्यसलाई आईतबारका निम्ति अगाडि सारियो।

यदि बैठक लम्बियो भने निर्वाचनको पराजयसंग जोडेर खासगरी पार्टि अध्यक्ष प्रचण्डको नेतृत्वबारेको चर्चा समेत हुन सक्ने ठानिएको छ।

पूर्व उपाध्यक्ष बाबुराम भट्टराईले फेसबुक मार्फत पार्टिको नेतृत्वको कार्यकालबारे चर्चा गरेपछि अध्यक्ष निकट र अन्य नेताहरुबीच उक्त बहस छेडिएको हो।

साथै पार्टिका तल्लो तहका संरचनाहरु चुस्त बनाउने उद्देश्यले सांगठनिक अधिवेशनको चर्चा चल्दै गर्दा केन्द्रिय समितिमापनि त्यसबारे छलफल हुन सक्छ।

एकीकृत नेकपा माओवादीको केन्द्रिय समितिमा करीब २४० सदस्य छन्।