एमाओवादीमा समानुपातिकको विवाद प्रमुख नेताहरुले टुङ्गो लगाउने

  • 1 जनवरी 2014
Image caption अध्यक्ष प्रचण्डले आफु खुसी समानुपातिकको सूची बनाएको भन्दै केही प्रमुख नेताले असन्तुष्टि पोखेका छन्

समानुपातिक सभासद चयनको विषयमा पार्टीभित्र विवाद देखिएपछि एकीकृत माओवादीका प्रमुख चार नेता सम्मिलित केन्द्रिय कार्यालयको बैठक बुधबार बसेर त्यसलाई टुंग्याउने प्रयासमा लागेका छन्।

सभासद चयनका लागि बनाएको पाँच बुँदे मापदण्ड विपरीत अध्यक्ष प्रचण्डले मनोमानी ढंगले आफ्ना पक्षधरहरुलाई सभासद चयन गरेको भन्दै नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले विरोध जनाएपछि त्यसलाई साम्य पार्ने वैठक वस्ने बताइएको छ।

विधि

सम्भावित विवाद हल गर्न भनेर समानुपातिकको सूचि तयार गर्नुअघि नै पाँच बुँदे मापदण्ड बनाइएको थियो।

जसमा पहिले सभासद भइसकेकाहरुलाई यसपटक नदोहोर्याउने, सहिद तथा वेपत्ता परिवार र युद्धका घाइतेहरुलाई प्राथमिकता दिने, पार्टी निर्वाचित भएका जिल्लाहरुबाट सभासद नछान्ने, पार्टीमा पुर्याएको योगदानलाई हेरीने र चुनावको समयमा निस्कृय रहेका र असहयोग गरेकाहरुलाई छनौट नगरीने भन्ने थियो।

तर आफैले बनाएको उक्त विधि अनुसरण नभएको भन्दै बाबुराम भट्टराई निकट मानिने नेता देवेन्द्र पौडेलले बुधबारको बैठकमा यसबारे कुरा उठ्ने बताए।

उनले भने, “नाम विशेषको यसको भएन उसको हुनुपर्थ्यो भन्दापनि अस्ति बनाएको विधिमा फरक पर्यो भन्ने हो। त्यसमा छलफल हुन्छ।”

बहस

अध्यक्ष प्रचण्ड पक्षधरहरुले भने उनलाई कमजोर पार्ने उदेश्यले समानुपातिकको विवाद झिकिएको बताउने गरेका छन्।

तर यसको प्रतिवाद गर्दै नारायणकाजी श्रेष्ठ निकट मानिने नेता गिरीराजमणि पोखरेलले पार्टीलाई नयाँ ढंगले निर्माण गर्ने मत उठेको बताए।

उनले भने, “पार्टीलाई एउटा प्रणालीमा लैजानुपर्ने छ। सबैको समुचित मुल्याङ्कन गर्नुपर्ने छ। त्यसैले (अध्यक्षलाई) गलाउने र नगलाउने कुरासँग सम्बन्धित छैन। नयाँ ढंगले पार्टी निर्माणको प्रक्रियामा बढ्छौं कि बढ्दैनौं भन्ने कुरासँग सम्बन्धित छ।”

आगामी २६ गते बस्ने भनिएको केन्द्रिय समितिको बैठकमा पार्टीलाई नयाँ ढंगबाट लैजानेबारे थप बहस हुने नेता पोख्रेलले बताए।