दक्षिण सुडानमा युध्दविराम गर:राष्ट्रसंघ

  • 2 जनवरी 2014
शरणार्थी
Image caption मिड्सा सँ फ्रन्टियाले आश्रय खोजीरहेका मानिसहरुको लागि शुध्द पिउने पानीको अभाव भइरहेको बताएको छ

दक्षिण सुडानमा चर्कदो द्वन्द्वका कारण आफ्नो घर छोडन् बाध्य दशौं हजार मानिसहरुलाई सहयोग अत्यावश्यक भएको सहायता संस्थाहरुले बताएका छन्।

बोर नगर क्षेत्र र वरपर राष्ट्रपति सल्वा किर र उनका पूर्व सहयोगी रियक मचारका समर्थकहरुबीच भिडन्तहरु चर्किएपछि थुप्रै मानिसहरु नाइल नदी नजिकै स्थापना गरिएका शिविरहरुतर्फ लागेका छन्।

दक्षिण सुडानको द्वन्द्वका दुवै पक्षबीच शान्ति वार्ता गराउने अन्तर्राष्ट्रिय प्रयास तीव्र भएको बेला त्यहाँको संकट झनै गहिरिने चिन्ता बढेको हो।

आश्रय

एक शिविरमा रहेका बीबीसीका एक संवाददाता भन्छन्, मानिसहरु आफूले बोकेर ल्याएका पोका पन्तरा लिएर रुखमुनि आश्रय लिइरहेका छन्।

एक सहयता संस्था मिड्सा सँ फ्रन्टियाले आश्रय खोजिरहेका मानिसहरुको लागि शुध्द पिउने पानीको अभाव भइरहेको बताएको छ।

उसका अनुसार मानिसहरु नाइल नदीको पानी शुध्दीकरण नगरिकनै पिउन बाध्य भएका छन् र शौचालयको अभावमा उनीहरु खुल्ला ठाउँमा दिसा पिसाब गरिरहेका छन्।

त्यसले गर्दा झाडा-पखाला जस्ता रोग फैलने त्रास बढेको छ।

द्वन्द्वका कारण करिब दुई लाख मानिसहरुले आफ्नो घर छोडेको अनुमान गरिएको छ।

द्वन्द्वरत पक्षहरुले इथियोपियामा शान्ति वार्ता गर्ने तयारी गरेका छन् तर भिडन्तहरु रोकिएका छैनन्।

युद्धविराम

संयुक्त राष्ट्रसंघले चाहि दक्षिण सुडानमा तत्काल युद्धविरामको माग गरेको छ।

युद्धविराम नभए विश्वकै सबैभन्दा कान्छो उक्त मुलुकको सामाजिक बनावट ध्वस्त हुन सक्ने चिन्ता पनि राष्ट्रसंघले व्यक्त गरेको छ।

दुई परस्पर विरोधी पक्षहरुले अर्को अफ्रिकी मुलुक इथियोपियामा शान्ति वार्ताका लागि तयारी गरिरहे पनि लडाइ भने जारी छ।

राष्ट्रसंघीय मिसनकी प्रुमख हिल्दे जोनसनले दुवै पक्षबाट जातीय आधारमा सर्वसाधारणमाथि आक्रमण भएका जस्ता नृशंस घटनाहरु भएको बताइन्।

“पछिल्ला १९ दिनको हिंसाले पुराना घाउहरु बल्झाएको छ र कति मानिसका लागि दु:स्वप्न फर्काएको छ, यसले संकट एकदमै गहिराएको छ।”

“त्यसैले अहिले राष्ट्रिय मेलमिलापको प्रयास हुनु जरुरी छ।”