फेरि प्रधानमन्त्री बन्दिनँ: सिंह

  • 3 जनवरी 2014
Image caption प्रधानमन्त्री सिंहले कंग्रेस उपाध्यक्ष राहुल गान्धीलाई आफ्नो उत्तराधिकारीको रुपमा प्रस्तुत गरेका छन्

भारतीय प्रधानमन्त्री मनमोहन सिंहले कंग्रेस उपाध्यक्ष राहुल गान्धीलाई आफ्नो उत्तराधिकारीका रुपमा संकेत गर्दै तेस्रो कार्यकालका निम्ति आफू प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन्।

दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले अर्को वर्षको मे महिनामा हुने आम चुनाव कंग्रेसले जिते आफुले सरकारको नेतृत्व हस्तान्तरण गर्ने बताएका हुन्।

उपाध्यक्ष राहुल गान्धी आगामी प्रधानमन्त्रीका लागि सुयोग्य उम्मेदवार रहेको भन्दै उनले विपक्षी नेता नरेन्द्र मोदीले चुनाव जिते त्यो भारतका निम्ति विनाशकारी हुने धारणा पनि राखे।

अस्वभाविक कडा

उक्त विशेष पत्रकार सम्मेलनमा प्रधानमन्त्री सिहंले आफ्नो स्वभाव विपरित विपक्षी नेता मोदीको चर्को आलोचना गरे।

निर्दोष मानिसहरुको आम नंरसहार गरेको आरोप खेपेका मोदीलाई प्रधानमन्त्री बन्न दिनु भारतका निम्ति विनाशकारी हुने उनको भनाइ थियो।

मोदी भारतको गुजरात राज्यका मुख्यमन्त्री हुन् र उनलाई झन्डै १००० जनाको ज्यान लिने गरी सन् २००२ मा फैलिएको मुसलमान विरोधी दंगा नियन्त्रण गर्न निकै कम पहल गरेको आरोप लागेको छ।

मोदीले आफुले कुनै गल्ती नगरेको बताउँदै आएका छन्।

भारतीय जनता पार्टीले प्रधानमन्त्री सिंहको भनाई प्रति कडा आपत्ती जनाउदैँ मोदीले गुजरात राज्यलाई विकासको नमुना बनाएको उल्लेख गरेको छ।

८१ वर्षीय सिंह झन्डै एक दशक देखि भारतको प्रधानमन्त्री छन्।

कडा रुपमा प्रस्तुत नुहने छवि बनाएका सिहंको शुक्रबारको पत्रकार सम्मेलन उनको कार्यकालमा भएको तेस्रोपटक थियो।

उनले कंग्रेसले उपयुक्त समयमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने उल्लेख गर्दै पार्टी उपाध्यक्ष राहुल गान्धी प्रधानमन्त्री बन्न सुयोग्य उम्मेदवार रहेको बताए।

दिल्लीस्थित बीबीसीका सन्जोय मजुमदार भन्छन्, अघिल्लो महिना भएको राज्यस्तरको चुनावमा कंग्रेसको नराम्रो हारको सन्दर्भमा प्रधानमन्त्री सिंहबाट अवकाशको घोषणा अपेक्षा गरिएको थियो।

भ्रष्ट्राचार

पत्रकार सम्मेलनमा उनले अर्थतन्त्र, महंगी र भ्रष्टाचारबारे पनि बोलेका थिए।

बारम्बार उठेका भ्रष्टाचार सम्बन्धी प्रश्नहरुको जवाफ दिदैँ उनले आफ्नो पहिलो कार्यकालमा भ्रष्टाचारको विषय चर्को रुपमा उठाए वापत दोस्रो पटक जनताले चुनावमा जिताएको उनले उल्लेख गरे।

नौ वर्ष प्रधानमन्त्री हुँदाको व्यक्तित्व र अहिलेको अवस्थामा कुनै फरक नरहेको उल्लेख गर्दै उनले आफ‍ुले साथीभाई र परिवारलाई फाईदा पुग्ने केही काम नगरेको बताए।

बीबीसीका आर्थिक संवाददाता भन्छन्, प्रधानमन्त्री सिहंको सत्ता गठबन्धनलाई भ्रष्टाचारको आरोपले छायाँमा पारे पनि उनी भारतलाई आर्थिक सुधार र आर्थिक विकासको मार्गमा अग्रसर गराउने सूत्रधारका रुपमा चिनिन्छन्।

सबैभन्दा लामो कार्यकाल प्रधानमन्त्रीको पदमा बिताउने नेता मध्येका एक सिंह सन् १९९१ मा भारतको अर्थमन्त्री थिए।