लेब्ननस्थित अल कायदा कमान्डरको ‘मृत्यु’

  • 4 जनवरी 2014
Image caption इरानस्थित लेब्ननको राजदूतावासमा भएको बम हमला अल मजिदको समुहको पहिलो ठूलो आक्रमण थियो

नियन्त्रणमा राखिएका लेब्ननस्थित अल कायदाका कमान्डर मजिद अल-मजिदको राजधानी बेइरूतको एक अस्पतालमा मृत्यु भएको सो देशको सेनाले जनाएको छ।

साउदी अरबका नागरिक अल-मजिदले अल कायदाको अब्दुल्लाह अज्जाम वाहिनीको नेतृत्व गर्ने गर्दथे र उनलाई हालै लेब्ननमा पक्राउ गरिएको थियो।

लेब्ननी सेनाका एक जनरलले एपी समाचार संस्थालाई बताए अनुसार उनको मृत्यु मृगौलाको रोगका कारण भएको हो।

अल कायदाको अब्दुल्लाह अज्जाम वाहिनीले मध्यपूर्वका विभिन्न ठाउँमा आक्रमण गरेको र २३ जनाको ज्यान जाने गरी गत नोभम्बर महिनामा इरानस्थित लेब्ननको राजदूतावासमा भएको बम हमलाको जिम्मेवारी लिएको थियो।

लेब्ननी सुरक्षा सुत्रहरूका अनुसार मजिद अल-मजिदको शनिबार एक सैनिक अस्पतालमा मृत्यु भएको थियो।

परिचय

शुक्रबार मात्रै लेब्ननी अधिकारीहरूले डिएनए परिक्षण गरी उनको परिचय यकिन भएको जनाएको थियो।

रक्षामन्त्री फायेज घेसन्ले यसअघि ती अल कायदा कमान्डरलाई सेनाको गुप्तचरले गोय ठाउँमा राखी सोधपुछ गरेको समाचारको पुष्टी गरेका थिए।

मजिद अल-मजिदको समुहको नाम सन् १९८० को दशकताका अफ्गानिस्तानमा सोभियतसंघ विरूद्ध लड्न मुजाहिद्दीन भर्ना गर्ने एक प्यालेस्टेनी जिहादी नेताको नामबाट लिइएको हो।

सो समुह इराकी विद्रोहमा लडेका इस्लामी चरमपन्थी उग्रवादीहरूका लागि आकर्षण बन्ने गरेको छ।

उसले आफ्नो आधार सिडन नजिकै रहेको एइन एल हिल्वेह प्यालेस्टेनी शरणार्थी शीवीरलाई बनाएको छ।

गत नोभम्बर महिनामा इरानस्थित लेब्ननको राजदूतावासमा भएको बम हमला सो समुहको पहिलो ठूलो आक्रमण भएको विश्वास गरिएको छ।

इरान र हेज्बोल्लाह उग्रवादी समुह सिरियाका राष्ट्रपति बशर अल अस्साडसित मिलेका छन्।

समाचारहरूमा जनाइए अनुसार अस्साडलाई पदच्यूत गर्न खोज्ने अल कायदाको एक सहयोगी संगठन अल नूसरा मोर्चालाई मद्धत गर्ने वाचा मजिद अल-मजिदले गरेका थिए।