हिंसामाझ बांगलादेशमा आमचुनाव

  • 5 जनवरी 2014
प्रधानमन्त्री शेख हसिना
Image caption प्रधानमन्त्री शेख हसिनाले चुनावी सरकार गठन गर्न अस्वीकार गरेकी छन्

विपक्षी दलहरुको बहिष्कार र हिंसात्मक विरोधका बीच आइतबार बांगलादेशमा भैरहेको चुनावमा कम्तीमा बाह्रजनाको ज्यान गएको छ।

मुख्य विपक्षी दलको बहिष्कार तथा चुनावी हिंसाका घटनामाझ स्थानीय समय अनुसार बिहान आठ बजेदेखि मतदान शुरु भएको थियो।

निर्वाचनको पूर्वसन्ध्यामा कम्तीमा सय मतदान केन्द्रहरुमा आगजनी गरिएको थियो।

एकजना निर्वाचन अधिकृत मारिएका छन्।

चुनावअघि भएका हिंसामा कैयौंको ज्यान गइसकेको छ।

विपक्षी दलले चुनावलाई लक्षित गरी दुई दिने आम हडतालको घोषणा गरेका छन्।

स्थगित

एकसय पचास भन्दा बढी मतदान केन्द्रहरुमा मतदान स्थगित गरिएको छ।

राजधानी ढाकाका मतदान केन्द्रहरुमा कम्तीमा दुईवटा बम हमला गरिएको थियो।

उत्तरी रङगपुर जिल्लामा प्रदर्शनकारीहरुले मतदान केन्द्रहरुमा कब्जा जमाउन प्रयासगरेपछि प्रहरीले चलाएको गोली लागी कम्तीमा दुई जनाको ज्यान गएको थियो।

निलफामारी जिल्लामा थप दुई जना मारिएका थिए।

विपक्षीहरुको पकड क्षेत्र ठानिने बोगरा जिल्लामा पनि कैयौं मतदान केन्द्रहरुमा हमला गरिएको थियो।

एएफपि समाचारसंस्थासंग कुरा गर्दै बोगराका प्रहरी प्रमुखले भने, "हजारौं प्रदर्शनकारीहरुले मतदान केन्द्रहरुमा धावा बोलेका छन् भने घरेलु विष्फोटक पदार्थ प्रयोग गरी प्रहरीमाथि हमला गरिएको छ।"

टकराव

पूर्व प्रधानमन्त्री बेगम खालेदा जियाको नेतृत्वमा रहेको विपक्षी बांगलादेश नेशनलिष्ट पार्टीले चुनावका निम्ति छुट्टै निष्पक्ष सरकारको माग गरेको थियो।

तर अवामी लिगकी नेतृ तथा प्रधानमन्त्री शेख हसिनाले ती माग अस्वीकार गरिन्।

Image caption निर्वाचन पूर्वको हिंसामा सयजनाको ज्यान गइसकेको छ

विपक्षी दलहरुले दबाब बढाउन शनिबारदेखि ४८ घण्टे आम हडतालको आह्वान गरेका छन्।

संयुक्त राज्य अमेरिका तथा युरोपेली युनियनले निर्वाचन पर्यवेक्षकहरु नखटाएपछि निर्वाचनको वैधतामा थप प्रश्न उठेका छन्।

चुनाव अघिका साताहरुमा सडक, रेल तथा डुंगा सञ्चालनमा अवरोध पुर्‍याइनुका साथै पसल, स्कूल तथा कार्यालयहरु बन्द गराइएका थिए।

हिंसामा परी एक सय जना भन्दा बढीले ज्यान गुमाइसकेका छन्।