सरकार निर्माणमा थप अन्यौल

  • 6 जनवरी 2014
Image caption संविधानसभाको पहिलो बैठक राष्ट्रपतिले बोलाउने कि प्रधानमन्त्रीले भन्ने विषयमा परेको रिट माथि सुनुवाई पुस २४ गते हुँदैछ

चुनाव सकिएको डेढ महिना नाघिसक्दा दलहरुले नयाँ राष्ट्रपति निर्वाचित हुने या नहुने भन्ने विषयमा सहमति जुटाउन नसकेपछि नयाँ सरकार गठनमा अन्यौल बढेको छ।

संविधानसभा चुनावबाट दोस्रो र तेस्रो बनेका दुई दलहरु नेकपा एमाले र एकीकृत माओवादीले राष्ट्रपति पुन: निर्वाचित हुनुपर्नेमा जोड दिएपछि नयाँ सरकार निर्माणको बाटो थप अन्यौलपूर्ण देखिएको हो।

संविधानसभाको पहिलो बैठक राष्ट्रपतिले आह्वान गर्ने कि प्रधानमन्त्रीले भन्ने विवाद सर्वोच्च अदालतमा विचाराधीन भएको बेला नेकपा एमाले र एकीकृत माओवादीले नयाँ राष्ट्रपति चयन हुनुपर्ने सहमति गरेका छन्।

अडान

सहमतिमा आउन यसपटक नेपाली कांग्रेस नै लचिलो हुनुपर्ने भन्दै नेकपा एमालेका नेता युवराज ज्ञवालीले भने, "सधैँ नेकपा एमाले नै सहमतिमा आउनुपर्छ भन्ने छैन। निकासका लागि यसपटक कांग्रेस आफ्नो अडानबाट पछि हटे पनि हुन्छ।"

संविधानसभाको चुनावमा तेस्रो स्थानमा खुम्चिएको एकीकृत माओवादीले शुरुमा संविधानसभाको कुनै पनि प्रकृयामा भाग नलिने बताएको थियो।

उसलाई मनाएर संविधानसभामा ल्याउन कांग्रेस र एमालेले झण्डै एक महिना कसरत गरे।

अन्तत: संविधानसभामा गए पनि प्रतिपक्षमै रहने बताउँदै आएको एमाओवादीले राष्ट्रपतिको निर्वाचन भने फेरि हुनुपर्नेमा जोड दिएको छ।

सहमति

एकीकृत माओवादीका नेता देवेन्द्र पौडेलले भने, "हामीले राष्ट्रपतिको पनि पुन: निर्वाचन होस् र त्यसको लागि सहमतिबाटै अघि बढ्नुपर्छ भन्ने मान्यता राखेका छौं।"

सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस चाहिं राष्ट्रपतिको निर्वाचन गर्न नपर्ने आफ्नो अडानमा कायमै छ।

अन्य दुई दल नेकपा एमाले र एकीकृत माओवादी सहमतिमा नआउँदा त्यसले सरकार निर्माणलाई पछि धकेल्ने काँग्रेस नेता विमलेन्द्र निधिले बताए।

उनले भने, "अहिले राष्ट्रपति चुनावको विषय उठाउनु भन्दा नयाँ संविधान बनाएर त्यसकै व्यवस्था अनुसार पछि निर्वाचन गर्नुपर्छ, नत्र सरकार बनाउन धेरै ढिला हुन्छ।"

संविधानसभाको पहिलो बैठक कसले आह्वान गर्ने भन्ने विवाद कायमै रहँदा राष्ट्रपतिको पुन: निर्वाचन गर्नु पर्ने कि नपर्ने भन्ने विषयमा पनि दलहरुले सहमति जुटाउन नसकेपछि यसपटक पनि नयाँ सरकार गठनमा महिनौं लाग्ने देखिएको छ।