संगठनलाई राजनीतिक प्रभावबाट मुक्त राख्छु : आइजीपी

  • 7 जनवरी 2014
Image caption कार्यस्थलमा खटिएका प्रहरीको मनोबल बढाउन प्रणालीगत सुधार गर्नु आवश्यक रहेको महानिरीक्षकको भनाई छ

उच्च प्रहरी अधिकारीको पद सम्हालेको करीब डेढ महिनापछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी संगठनलाई राजनीतिक, प्रशासनिक लगायत जस्तो सुकै प्रभावबाट मुक्त राख्न प्रणालीगत विकास गर्ने योजना सहितको प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले नेपाल प्रहरीको अपराध अनुसन्धानलाई वैज्ञानिक रुपले अघि बढाउने योजना रहेको पनि बताएका छन्।

प्रणाली

अपराध अनुसन्धानको क्रममा नेपाल प्रहरीले तीव्र राजनीतिक, प्रशासनिक लगायतका दबाब झेल्नु परिरहेको गुनासाहरुका माझ प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको उक्त भनाई आएको हो।

उनले भने, “राजनीतिक प्रभाव होस्, प्रशासनिक प्रभाव होस् वा जस्तो सुकै प्रभाव होस्, गुण्डागर्दी वा अपराध अनुसन्धान र नियन्त्रणका सम्बन्धमा बाहिरी प्रभावबाट जोगाउनका लागि सबभन्दा पहिला संगठन भित्रै प्रणालीगत विकास गर्नुपर्छ। यस तर्फ आगामी दिनहरुमा हामी व्यवहार र कार्यशैलीबाट देखाउनेछौं।”

एक वर्ष अघि तयार गरेको भनिएको ‘नेपाल प्रहरीको रणनीतिक योजना’ सोमबार सार्वजनिक गरेपछि उनले यस्तो बताएका हुन्।

प्रहरीको छविमा व्यापक सुधार ल्याउने उनको प्रतिवद्धता छ।

पद्धति

“कर्मचारीहरुको आन्तरिक शुद्धिकरण र प्रहरीको छविमा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरेका छौं।” प्रहरी महानिरीक्षक अर्यालले भने।

“अपराधीलाई छाडिने छैन। पिडितले न्याय पाउनेछन्। आम नागरिकलाई विश्वस्त तुल्याउने गरी अपराध अनुसन्धानको प्रमाणमुखी वैज्ञानिक अनुसन्धान पद्धति अवलम्वन गर्छौं।”

प्रहरी महानिरीक्षक अर्यालले प्रहरी संगठनलाई सुदृढ गर्दै सेवाको स्तरमा वृद्धि गर्ने, अपराध अनुसन्धानको क्रममा मानवअधिकारको संरक्षण गर्ने लगायतका विषयमा समेत प्रतिवद्धता जनाएका छन्।

राजनीतिक हस्तक्षेपले आक्रान्त बनेको भनिएको प्रहरी संगठनलाई हस्तक्षेप मुक्त पार्ने कार्य निकै चुनौतिपूर्ण हुने कतिपयको धारणा छ।