स्पेनकी राजकुमारीलाई अदालतमा उपस्थित हुन आदेश

  • 7 जनवरी 2014
Image caption अदाङ्गरिनले आफूले चलाउने कल्याणकारी संस्थालाई दिइएको दशौं लाख यूरो दुरूपयोग गरेको आरोप थियो

स्पेनका राजा हुआँ कार्लोसकी कान्छी छोरीलाई धोकाधडी र कालो धनलाई वैध बनाउन खोजेको आरोपमा अदालतमा उभिन आदेश दिइएको छ।

राजकुमारी क्रिस्टिना रकम हिनामिनाको आरोपमा अनुसन्धान खेपिरहेका उनका पतिको व्यवसायमा संलग्न रहेको बताइएको छ।

अड्चालीस् वर्षीय राजकुमारीविरूद्ध औपचारिक रूपमा आरोप लगाइएको छ र उनी मार्च ८ तारिखको दिन अदालतमा उपस्थित हुनुपर्ने छ।

राजा हुआँ कार्लोसका नजिकका नातेदारलाई अपराधको आरोप लगाइ अदालतमा उभ्याइन लागिएको यो पहिलो पटक हो।

अदालतका न्यायाधीश होसे कास्ट्रोले राजकुमारी क्रिस्टिनालाई उनका पति इनाकी अदाङ्गरिनको संस्थासित कस्तो साझेदारी थियो भन्नेबारे सोधपूछ गर्न अदालतमा उपस्थित हुन आदेश दिएका छन्।

'सार्वजनिक कोष दुरूपयोग'

अदाङ्गरिनले आफूले चलाउने कल्याणकारी संस्थालाई दिइएको दशौं लाख यूरोको सार्वजनिक कोष दुरूपयोग गरेको आरोप लागेपछि उनको सम्पत्तिलाई कब्जामा लिइएको थियो।

उनले आफूले कुनै गलत काम नगरेको बताएका थिए र उनी विरूद्ध कुनै अपराधको आरोप लगाइएको थिएन।

यसअघि न्यायाधीश कास्ट्रोले गत वर्षको अप्रिल महिनामा राजकुमारी क्रिस्टिनालाई अदालतमा उभ्याउन खोज्दा, प्रान्तीय अदालतले सो कदम रोकिदिएको थियो।

अदालतको नयाँ आदेश आइजून नामक कम्पनीसित सम्बन्धित छ।

सो कम्पनीलाई माध्यम बनाइ कालो धनलाई वैध बनाइएको अनुसन्धानकर्ताहरूलाई आशंका छ।

ती घटनाहरू सन् २००४ र २००६ बीच भएका आरोप लगाइएको छ।

त्यसैबेला अदाङ्गरिनले नूस कम्पनिको प्रमुख पद छाडेका थिए।

अदालतले मंगलबार दिएको आदेशबारे प्रतिक्रिया जनाउँदै स्पेनको राजपरिवारले “न्यायिक निर्णयप्रति उच्चतम सम्मान रहने” बताएको छ।