संविधानसभाको पहिलो बैठक बारे सर्वोच्चमा सुनुवाई

  • 8 जनवरी 2014
Image caption संविधानसभाको पहिलो बैठक राष्ट्रपतिले बोलाउन पाउनु पर्ने भन्दै शितल निवास सक्रिय भएको छ

संविधानसभाको पहिलो बैठक राष्ट्रपतिले बोलाउन पाउनु पर्ने भन्दै परेको रिटमा आज बुधबार विपक्षीको समेत उपस्थितिमा सर्वोच्चमा सुनुवाई हुंदैछ।

पहिलो बैठक राष्ट्रपतिले बोलाउन पाउनुपर्ने माग गर्दै डेमोक्रेटिक लयर्स एसोसिएसनको तर्फबाट सर्वोच्चमा रिट परेको थियो।

विवाद

उक्त रिटको सुनुवाईको लागि बुधबार विपक्षी अर्थात अन्तरिम मन्त्रिपरिषदका अध्यक्षको पक्षलाई समेत उपस्थित गराई आन्तरिम आदेश दिनु पर्ने वा नपर्ने विषयमा छलफल हुने सर्वोच्चका प्रवक्ता श्रीकान्त पौडेलले बताए।

उनले भने, “पेशी आज (बुधबार) तोकिएको छ। यो विवादको सम्बन्धमा आज (बुधबार) सर्वोच्चले अन्तरिम आदेश जारी गर्छ।”

प्रधानमन्त्रीले बैठक बोलाउन पाउनु पर्ने भन्दै परेको अर्को रिटमा हिजो मंगलबार नै सर्वोच्चले राष्ट्रपति कार्यालयलाई अन्तरिम मन्त्रि परिषदका अध्यक्षले किन बैठक बोलाउन नमिल्ने भन्दै कारण देखाउ आदेश जारी गरेको थियो।

अन्तरिम संविधानको धारा ६९ मा प्रधानमन्त्रीले संविधानसभाको पहिलो बैठक बोलाउनु पर्ने उल्लेख छ।

तर परम्परा अनुसार राष्ट्रप्रमुखले बैठक बोलाउनु पर्ने अभ्यास र परम्परा रही आएको भन्ने तर्क पनि प्रस्तुत भैरहंदा दलहरुबीच कुरा नमिलेपछि विवादले निकाश पाउन नसकेको हो।