मध्य अफ्रिकी गणतन्त्र मानविय विपदको दिशामा

  • 9 जनवरी 2014
मध्य अफ्रिकी गणतन्त्रका शरणार्थीहरु
Image caption मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुई स्थित विमानस्थलमा शरणार्थीहरुको भिड बढेको छ

संयुक्त राष्ट्र संघले मध्य अफ्रिकी गणतन्त्र मानविय विपदको दिशा तर्फ बढीरहेको भनी सावधान गराएको छ। त्यहां भिडन्तबाट बच्न हजारौं मानिसहरु आआफ्ना घर छोडी भिड बढी भएका शिविरहरुमा बसिरहेका छन्, जहां स्वच्छ पिउने पानी र उचित सरसफाइको व्यवस्था छैन।

राष्ट्र संघले त्यहांको विमानस्थलमा रहेको एउटा शिविरमा दादुरा फैलिएको बताएको छ।

राजधानी बान्गुईस्थित विमानस्थलमा रहेको शिविरमा एकलाख भन्दा बढी मानिसहरु कोचाकोच गरेर बसिरहेका छन्।

आश्रयस्थल

विमानस्थलको धावन मार्गसम्म नै पुग्ने गरी प्लाष्टिकले बनाइएका अस्थायी आश्रयस्थलहरु देख्‍न सकिन्छ।

बुधबार मात्र संयुक्त राष्ट्र संघीय बालकोष र अन्य सहायता एजेन्सीहरुले हिंसाबाट विस्थापीत २१ हजार बालबालिकालाई दादुरा विरुद्धको खोप लगाएका थिए।

एक महिना अघिसम्म त्यहां केहि हजार मानिसहरु मात्र थिए तर राजधानी बान्गुईमा भिडन्त चर्कीए संगै शरणार्थीहरुको संख्या पनि ठूलो बृद्धि भएको छ।

शहरका आधा भन्दा बढी बासिन्दा आआफ्ना घर छोडी अन्यत्र भागेर गएका छन्।

गत हप्ता विमानस्थलमा रहेको शिविरमा नै गोली चल्दा तीनजना बालबालिकाको मृत्यु भएको थियो भने सहायता एजेन्सीहरुले केहि समय आफ्नो काम बन्द गरेका थिए।

स्थिती साम्य

Image caption फ्रान्सका शान्ति स्थापक सैन्य परिचालन भएपनि मध्य अफ्रिकी गणतन्त्रमा हिंसामा कमी देखिएको छैन

त्यहां स्थित बीबीसी सम्बाददाता पल उड भन्छन्, अहिले स्थिती केहि साम्य भएको जस्तो देखिन्छ, शिविर र राजधानी बानगुई दुवै स्थानमा।

तर हिंसा राजधानी भन्दा बाहिरको क्षेत्रमा फैलिएकोले स्थिती त्यस्तो देखिएको एकजना सहायताकर्मीले बताएका छन्।

उनले ईशाई भिजीलान्तेहरुले मुख्यतया मुसलमानहरु रहेका सेलेका मिलिसिया विरुद्ध कडा बदलाको तयारी गरिरहेको भन्ने खबरले आफू लगायत अरुहरु एकदम चिन्तीत रहेको पनि बताएका छन्। ्

त्यहां शान्ति स्थापनाका लागि फ्रान्सले १६ सय सैनिक परिचालन गरेको भएपनि हिंसा जारी रहेको छन्।

अफ्रिकी संघका चार हजार शान्ति स्थापक सैनिक त्यहां पहिले देखि नै तैनाथ छन्।

भिडन्तका कारण गत डिसेम्बर महिनायता त्यहां एकहजार जनाको ज्यान गैसकेको बताइन्छ र राष्ट्रसंघले देशभरी झण्डै साढे नौ लाख मानिसहरु विस्थापित हुनु परेको जनाएको छ।