कोइरालालाई पार्टीभित्र सहमति जुटाउन कठिन

  • 9 जनवरी 2014
Image caption नयाँ प्रधानमन्त्री को बन्ने भन्ने विषयमा काँग्रेस भित्रै विवाद देखिएको छ

दोस्रो संविधानसभाको चुनावमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेपछि प्रधानमन्त्रीको स्वाभाविक हकदार मानिएका पार्टी सभापति सुशील कोइरालालाई दल भित्रै आफ्नो पक्षमा सहमति जुटाउन कठिन देखिएको छ।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी उपसभापति रामचन्द्र पौडेलले प्रमुख कार्यकारी पदमा आफ्नो दावी प्रस्तुत गरेपछि कोइरालामाथि लेनदेन गर्नुपर्ने दबाब बढेको हो।

प्रधानमन्त्री चयन गर्ने संविधानसभाको पहिलो बैठक कसले बोलाउने भन्ने अन्यौल जारी रहँदा कांग्रेस भित्रको विवाद चुलिएको छ।

दाबेदारी

सभापति सुशील कोइरालाकै नेतृत्वमा पार्टीले चुनाव जितेको हुनाले अरु व्यक्ति प्रधानमन्त्रीको उम्मेदवार हुन नसक्ने कोइराला पक्षधर नेताहरुको भनाइ छ।

३ पटक प्रधानमन्त्री पद चलाएको अनुभव बोकेका नेता शेरबहादुर देउवाले एक वर्षभित्र संविधान लेख्नुपर्ने भएकाले अहिलेको असहज बेलामा आफूले मिलिजुली सरकार बनाउन सक्ने भन्दै आफ्नो दावेदारी पेश गरेका छन्।

कोइराला प्रधानमन्त्री भए पार्टीको उच्च जिम्मेवारी आफ‍ुलाई दिइनुपर्ने उनको माग छ।

एक व्यक्ति एक पदको मागबारे देउवा पक्षीय नेता बालकृष्ण खाँडले भने, "यदि उहाँ प्रधानमन्त्री बन्ने हो भने पार्टीको जिम्मेवारी अरुलाई दिनुपर्छ भन्ने पनि कार्यकर्ता पंक्तिमा छ, केन्द्रीय समितिमा या संसदीय दलमा या कार्यकर्ता पंक्तिमा व्यापक छलफल नहोस् त्यसले कार्यकर्तामा विभाजन ल्याउँछ।"

मध्यमार्ग

वरिष्ठ नेताहरुबाट यसरी चुनौती आइरहँदा कोईराला परिवारकै कतिपय सदस्यले भने बीचको बाटो रोजेका छन्।

कांग्रेस नेता शेखर कोइरालाले भने,"रामचन्द्रजी पनि संसदीय दलको नेता भईसकेको व्यक्ति, शेरबहादुरजी प्रधानमन्त्री भईसकेको व्यक्ति, उहाँहरुले उठाएको विषय पनि जायज छ। तर सहज तरिकाले जाँदा पार्टी सभापति हुनुपर्यो भन्ने हो।"

पार्टीमा आफ्नो प्रभुत्व मजबूत पार्न देउवा पक्षले सभापति कोइराला र उपसभापति पौडेल दुबैको प्रधानमन्त्री हुने आंकक्षाको बीचमा खेल्ने मनस्थिति बनाएको देखिन्छ।

देउवा पक्षीय नेता खाँडले पौडेलको दावीलाई स्वाभाविक मानेर समर्थन गर्ने हदसम्म जान सक्ने छनक दिए।

खाँडले भने, "अप्ठ्यारो परिस्थितिमा संसदीय दलको नेतृत्व गरेको थिएँ, पहिला पनि प्रधानमन्त्रीको रुपमा अघि सारिएको हो, मलाई प्रधानमन्त्री पद दिनुपर्छ भने त्यो पनि स्वभाविकै हो। "

प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बन्नुअघि कांग्रेसले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न कोइरालालाई प्रस्ताव गर्दा घरेलु भन्दा बाह्य कारणबाट उनी प्रधानमन्त्री बन्न वन्चित भएको खबरहरु आएका थिए।

अहिले अरु पार्टीसँग शक्ति बाँडफाँडको विषय मिलाउनै गाह्रो पर्ने देखिँदै गर्दा पार्टी भित्रकै समीकरण मिलाउन उनलाई चुनौती देखिएको छ।

नेतात्रय बीचको विवादका कारण सत्ता गठबन्धन निर्माण र त्यसपछि हुने प्रधानमन्त्रीको चयन थप जटिल बन्न सक्ने जानकारहरु बताउँछन्।