जीएम बिउबिजन तत्काल नभित्र्याउन आदेश

  • 9 जनवरी 2014
राइस रिसर्च इन्स्टिच्युट मनिला फिलिपिन्समा हालै एक वैज्ञानिके सामान्य चामल र पोषिलो भनिएको गोल्डन राइस देखाउँदै
Image caption जीएम बिउको विस्तारले वनस्पतिय तथा जैविक विविधतामा ह्रास आउने वातावरणवादीहरु बताउँछन्

सर्वोच्च अदालतले जेनेटीकली मोडीफाइड (जीएम) अथवा आनुवंशिक परिवर्तन गरिएका बिउबिजन तत्कालका लागि नभित्र्याउनु भन्दै आदेश दिएपछि जीएम बिउबिजन प्रयोगबारे नेपालमा चर्किंदो बहस थप लम्बिने देखिएको छ।

अमेरिकाको मोनसान्टो कम्पनीले उत्पादन गरेका जीएम बिउबिजन नेपालमा भित्र्याउन हुँदैन भन्दै त्यस्को विरोध भएको थियो।

अब जीएम बिउबिजन भित्र्याउन हुने की नहुने भन्ने बारे सर्वोच्च अदालतमा माघ २ गते छलफल हुने भनिएको छ।

नेपालमा केही समयअघि देखि नै विदेशबाट भित्र्याइएका हाइब्रिड अर्थात बर्णशंकर र जीएम अर्थात आनुवंशिक परिवर्तन गरिएका मकै र विभिन्न तरकारी र फलफुलका विउबिजनको प्रयोग हुने गरेको कृषि अधिकारीहरु बताउँछन्।

विवाद

हालै चर्किएको जीएम बिउबिजनको विरोधपछि सो विवाद सर्वोच्च अदालत पुगेको हो।

सर्वोच्च अदालतका प्रवक्ता श्रीकान्त पौडेलका अनुसार अधिवक्ता अर्जुनकुमार अर्यालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै हिजो बुधबार न्यायाधिश वैद्यनाथ उपाध्यायको इजलाशले माघ २ गतेसम्म जीएम बिउबिजन नभित्र्याउनु भन्ने अन्तरिम आदेश दिएको हो।

“सो विषयमा २०७० साल माघ २ गते नै दुबै पक्षलाई छलफलको लागि बोलाइएको छ।”प्रवक्ता पौडेलले जनाए।

रिट निवेदनमा प्रधानमन्त्री कार्यालय, कृषि मन्त्रालय र कृषि अनुसन्धान परिषद नार्कलाई विपक्षी बनाइएको थियो।

जीएम बिउबिजनका विरोधीहरु जीएम बिउबाट उब्जनी गरिएको उत्पादनबाट परंपरागत खेतिमा जस्तो भावि बालीनालीको लागि पुन: बिउ बनाउन नसकिने र त्यस्को प्रयोगले किसानहरुलाई बढ्दो रुपमा जीएम बिउका उत्पादक बहुराष्ट्रिय कम्पनीमै निर्भर बनाउने चिन्ता व्यक्त गर्दछन्।

'ह्रास'

उनीहरु भन्छन् जीएम बिउको प्रयोग र विस्तारले परंपरागत खेतीपातीसंगै वनस्पतिय तथा जैविक विविधतामा समेत ह्रास ल्याउँछ।

तर अमेरिकाको सेन्ट लुइसमा मुख्यालय भएको मोनसान्टो जस्ता जीएम बिउबिजनका उत्पादक तथा वितरकहरु वैज्ञानिक अनुसन्धानपछि विकास गरिएका जीएम तथा बर्णशंकर विउबिजनले थोरै जमिनबाट धेरै उत्पादन लिन सकिने दाबी गर्छन्।

जीएम फुडबाट विश्वको बढ्दो जनसंख्यालाई पर्याप्त खाना र पोषण पुर्‍याउन सकिने दिगो कृषि प्रणालीको विकास हुने तर्क मोनसान्टोको छ।