दक्षिण सुडानका सैनिक बेन्तिउतर्फ

  • 9 जनवरी 2014
विस्थापितहरु
Image caption दक्षिण सुडानमा भीडन्तबाट जोगिन हजारौं मानिसहरु घर छाडेर भागिरहेका छन्

दक्षिण सुडानका सरकारी सैन्यहरु देशको तेल उत्पादक क्षेत्रमा विद्रोहीहरुको नियन्त्रणमा रहेको बेन्तिउ नगरतर्फ अगाडि बढीरहेका छन्।

उक्त नगरमा रहेका बीबीसीका एकजना संवाददाता भन्छन्, विद्रोहीहरु अग्रपंक्तिबाट पछाडि फर्कीरहेका छन् र उनीहरुले आफुले बोक्न नसकेका हतियारहरु नष्ट गरिरहेको जस्तो देखिन्छ।

लडाईं रोक्न भैरहेका वार्तामा खासै प्रगति भएको छैन।

बेन्तिउ नगरमा रहेका हाम्रा संवाददाताले विद्रोहीहरुले शहरमा एउटा ट्याङकर ल्याएको देखेका थिए।

उनले सरकारी सैन्यहरु अगाडि बढीरहँदा सर्वसाधारणमा त्रास फैलिएको जनाए।

शरण

घर छाडेर भागेका हजारौं सर्वसाधारणले संयुक्त राष्ट्र संघको एउटा परिसरमा शरण लिइरहेका छन्।

सरकारी सैन्य बेन्तिउ नगरभन्दा झण्डै २५ किलोमिटर टाढा रहेको ठानिएको छ।

बेन्तिउ तेलमा धनी युनिटी राज्यको राजधानी हो।

विद्रोहीहरुको नियन्त्रणमा रहेको अर्को नगर बोर वरिपरि पनि भीडन्त भैरहको बताइएको छ।

यसैबीच अन्तर्राष्ट्रिय रेडक्रसका एकजना अधिकारीले दक्षिण सुडानमा मानवीय स्थिति अत्यन्त जोखिमपूर्ण रहेको बताएका छन्।

'गम्भीर सँकट'

दक्षिण सुडानको तीन दिने भ्रमण पछि आइसिआरसिका अध्यक्ष पिटर मौररले भने, “दक्षिण सुडानमा पहिले नै स्थिति कठिन थियो। तर अहिले त त्यहाँ गम्भीर सँकटको स्थिति छ।”

गत १५ डिसेम्बरमा हिंसा भडकिए यता अहिलेसम्म झण्डै एकहजार जनाको ज्यान गैसकेको छ।

राष्ट्रपति साल्भा किर तथा भूतपूर्व उपराष्ट्रपति रियक माचार समर्थक सैन्यहरुबीच गत महिना भीडन्त शुरु भएको थियो।

उता दक्षिण सुडानमा जारी लडाईं रोक्ने उद्देश्यले छिमेकी इथियोपियामा जारी वार्तामा खासै कुनै प्रगति भएको छैन।

दुबै पक्ष युद्धविरामको अनुगमन गर्ने संयन्त्र कस्तो हुने भन्ने विषयमै अल्झिरहेका बताइएको छ।

'नयाँ राष्ट्र'

दक्षिण सुडान संसारकै सबैभन्दा नयाँ राष्ट्र हो।

दशकौं लामो द्वन्द्वपछि सन् २०११ मा सुडानबाट अलग भएर दक्षिण सुडानको निर्माण भएको हो।

दक्षिण सुडान स्वतन्त्र हुनु अघि सुडान सरकारसंग तथा आपसमा भीडन्त गरिरहेका विद्रोही समूहहरुबीच अझै पनि सामन्जस्य कायम हुन सकेको छैन।

राष्ट्रपति किर डिङ्का समुदायका सदस्य हुन् भने मचार न्युअर समुदायका।

ती दुई राजनीतिज्ञहरुबीचको मतभिन्नताले अहिले जातीय स्वरुप लिएको देखिएको छ।