मध्य अफ्रिकी गणतन्त्रका राष्ट्रपतिद्वारा राजीनामा

  • 10 जनवरी 2014
Image caption इसाई र मुसलमान मिलिसियाबीच लडाईं चर्केपछि मध्य अफ्रिकी गणतन्त्रको २० प्रतिशत जनसंख्या भागेको छ

साम्प्रदायिक हिंसा रोक्न नसकेको भनी आलोचना खेपेका मध्य अफ्रिकी गणतन्त्रका अन्तरिम राष्ट्रपति मिशेल जोटोडियाले राजीनामा दिएका छन्।

सो देशको हिंसा रोक्ने प्रयासमा छिमेकी देश चाडमा आयोजित एक क्षेत्रीय सम्मेलनमा उनले पद त्याग गरेका भनि घोषणा गरिएको हो।

त्यसअघि सो क्षेत्रीय संगठनका महासचिव अहमत अल्लामीले मध्य अफ्रिकी गणतन्त्रको भावी नेतृत्वबारे छलफल गर्न सो देशको राष्ट्रिय संक्रमणकालीन परिषदका सदस्यहरूलाई उक्त बैठकमा ल्याइएको जनाएका थिए।

क्षेत्रीय नेताहरूको सो बैठकमा जोटोडियाको भविष्य प्रमुख मुद्धा थियो।

चाडमा सो बैठक भइरहँदा, मध्य अफ्रिकी गणतन्त्रको राजधानी बाङ्गुइका सडकहरूमा हजारौं मानिसले उनको राजीनामा माग गरेका थिए।

मध्य अफ्रिकी गणतन्त्रका पहिला मुसलमान नेता, जोटोडियाले यसअघिसम्म त्यस्तो दबाबको बेवास्ता गर्दै आएका थिए।

सत्ता कब्जा

उनले गत वर्ष मुख्य गरी मुसलमान विद्रोहीहरूको समर्थन लिएर सत्ता कब्जा गरेका थिए।

त्यस यता इसाई र मुसलमान मिलिसियाबीच लडाईं चर्केपछि सो देशको २० प्रतिशत जनसंख्या घर छाडेर भागेका छन्।

मध्य अफ्रिकी गणतन्त्रको स्थितिलाई नियन्त्रणमा ल्याउन सो देशमा फ्रान्स तथा अफ्रिकी शान्तिस्थापकहरू पुगेपनि त्यहाँ हिंसा बढ्दै गएको छ।

बीबीसी संवाददाता पाउल वुडका अनुसार जोटोडियाले आफ्नो पूर्व विद्रोही समुह सेलेकालाई विगठन गरेपनि त्यसका लडाकुहरूलाई नियन्त्रणमा राख्‍न नसकेको देखिएको थियो।

ती लडाकुहरूका गतिविधिका कारण इसाईहरुले पनि आफ्नो मिलिसिया गठन गर्न पुगेका थिए।

परिणाम स्वरूप ती दुई समुहले एक अर्का विरूद्ध आक्रमण तीव्र बनाएका थिए।