निकासका लागि राष्ट्रपतिको अग्रसरता

  • 10 जनवरी 2014
Image caption राष्ट्रपति कार्यालयले संविधानसभाको बैठक कसले बोलाउने भन्ने विवाद सुल्झाउन पहल शुरु गरेको छ

संविधानसभाको पहिलो बैठक कसले बोलाउने भन्नेबारे जारी विवाद लम्बिदै गईरहेका बेला राष्ट्रपति कार्यालयले निकासका लागि अग्रसरता देखाएको छ।

पहिलो बैठक राष्ट्रपति कि मन्त्रिपरिषद् अध्यक्ष कसले बोलाउने भन्ने विवादको सर्वत्र आलोचना भईरहेका बेला शीतल निवासको त्यस्तो अग्रसरता देखिएको हो।

गृहमन्त्री, कानुनमन्त्री र महान्यायाधिवक्ता तथा राष्ट्रपतिका सल्लाहकारबीच शीतल निवासमा शुक्रबार साँझ परामर्श भएको थियो।

राष्ट्रपति रामवरण यादवले बिहीबार आफ्ना सल्लाहकारहरुसँग संविधानसभाको पहिलो बैठकबारे परामर्श गरेका थिए।

छलफल

राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले निकासका लागि राष्ट्रपति र मन्त्रीपरिषद्का अध्यक्ष दुबै जना लचिलो भएको बताए।

उनले भने, ''निकासका लागि शुक्रबारै सहमति हुन सक्ने संभावना छ।''

राष्ट्राध्यक्षको हैसियतमा राष्ट्रपति यादव वा सरकार प्रमुखको हैसियतमा अन्तरिम चुनावी परिषद्का अध्यक्ष खिलराज रेग्मी कसले संविधानसभाको पहिलो बैठक बोलाउने भन्नेमा विवाद रहँदै आएको छ।

संविधानसभा निर्वाचन भएको ५२ दिन बितिसक्दा पनि अहिलेसम्म संविधानसभाको बैठक नै आह्वान गरिएको छैन।

सो विषयमा सर्वोच्च अदालतमा परेका छुट्टाछुट्छटै रिट मध्ये एउटामा राष्ट्रपतिले र अर्कोमा मन्त्रिपरिषद् अध्यक्षले संविधानसभाको पहिलो बैठक बोलाउनुपर्ने माग गरिएको छ।

जटिल संवैधानिक प्रश्न जोडिएको भन्दै सर्वोच्चले 'एमिकस क्युरी' अर्थात् अदालतका सहयोगी भनिने कानुन व्यवसायीबाट फैसलाअघि सुझाव लिने निर्णय गरिसकेको छ।

निकास

सर्वोच्चले पुष २९ गतेदेखि दुई वटै रिटलाई सँगै राखेर विशेष इजलासमा सुनुवाई गर्ने जनाएको छ।‌

राष्ट्रपति र अन्तरिम चुनावी परिषद्का अध्यक्ष दुबैले अदालतको आदेश पालना गर्ने बताएका छन् भने दलहरुले पनि त्यस विषयमा अदालतको आदेश पर्खने भनिसकेका छन्।

तर अदालतको आदेश पर्खिए संविधानसभाको बैठक थप पर धकेलिने देखिन्छ।

राष्ट्रपतिले बैठक बोलाउनुपर्ने भन्दै आएको नेपाली कांग्रेसका केही नेताहरुले अब जसले बोलाए पनि हुने भन्ने अभिव्यक्ति दिईरहेका छन्।

अन्तरिम संविधानमा संविधानसभाको पहिलो बैठक भने प्रधानमन्त्रीले बोलाउनुपर्ने उल्लेख छ।

तत्कालीन समयमा राष्ट्राध्यक्षको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पहिलो बैठक बोलाएका थिए।