दिल्लीस्थित अमेरिकी कुटनीतिज्ञलाई देश निकाला

  • 11 जनवरी 2014
Image caption कुटनीतिक उन्मुक्ति प्रदान गरिएपछि देवयानी खोब्रगाडे शुक्रबार दिल्ली फर्किएकी छन्

भारतको आग्रहपछि दिल्लीस्थित अमेरिकी राजदूतावासका एक जना कुटनीतिज्ञ स्वदेश फिर्ता हुन लागेको अमेरिकाले पुष्टि गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले भारतको कदमलाई खेदजनक भन्दै यसले दुई देशबीच जारी विवादको अन्त्य गर्ने अपेक्षा गरीएको बताएको हो।

भारतीय कुटनीतिज्ञ देवयानी खोब्रगाडे गत महिना राहदानी जालसाजी गरेको र घरेलु कामदारलाई न्युन ज्याला दिएको आरोपमा पक्राउ परेपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ।

‘खेद’

अब भारत फेरि आफूसँग रचनात्मक सम्बन्धमा फर्कने विश्वास अमेरिकी विदेश मन्त्रालयले गरेको छ।

प्रवक्ता जेन साकिले भनिन्, " भारत सरकारले एक जना अमेरिकी कुटनीतिज्ञलाई देश निकाला गर्ने आवश्यकता महसुस गरेकोमा हामीलाई खेद छ।"

दुई देशबीचको सम्बन्ध चुनौतिपूर्ण समयबाट गुज्रीरहेकोले उनले विवाद अन्त्य हुने र भारतले सम्बन्ध सुधार गर्न सकारात्मक कदम चाल्ने विश्वास गरिन्।

देश निकाला गरिएका अमेरिकी कुटनीतिज्ञको नाम खुलाईएको छैन्।

तर स्रोतहरुलाई उदृत गर्दै एएफपी समाचार संस्थाले ती व्यक्ति खोब्रगाडे प्रकरणसँग सम्बन्धित रहेको र लगभग उही तहको रहेको जनाएको छ।

यसअघि भारतले ३९ बर्षिय खोब्रगाडेलाई हत्कडि लगाइएको र शरिर खानतलासी गरिएको भन्दै माफी माग्नुपर्ने बताएको थियो।

खोब्रगाडेले आफूले कुनै गल्ती नगरेको बताउने गरेकी छन्।

फिर्ता

म्यानहटनमा रहेको अमेरिकी संघीय ग्रान्ड जुरीले बिहिबार उनीमाथि अभियोग लगाएको थियो ।

तर अमेरिकी अधिकारीहरुले कुटनीतिक उन्मुक्ति प्रदान गरेपछि उनलाई भारत फर्कन बाटो खुलेको थियो।

खोब्रागाडे शुक्रबार राति नै भारतको राजधानी फर्कीएकी छन्।

उनका पिता उत्तम खोब्रगाडेले छोरीको घर फिर्ती प्रति खुसी जनाउँदै देशभर प्राप्त भएको सहयोगको सराहना गरेका छन्।

सो घटनाको विरोधमा दिल्लीस्थित अमेरिकी राजदूतावासमा रहेको सुरक्षा घेरा हटाइएको थियो र भारत भ्रमणमा रहेको अमेरिकी प्रतिनिधिमण्डलसँग भारतीय अधिकारीहरु र नेताहरुले भेट्न अस्विकार गरेका थिए।