भगोडा सैनिकहरु फेरि सेनामा फर्किंदै

  • 13 जनवरी 2014
शरणार्थीहरु
Image caption द्वन्द्वका कारण दशौं हजार मानिसहरु विस्थापित भएका छन्

मध्य अफ्रिकी गणतन्त्रका सैयौं भगोडा सैनिकहरु राजधानी बेंगुइमा फेरि सेनामा फर्किन लागेका छन्।

गत वर्ष सत्ता हत्याएका मुसलमान बहुल सेलेका विद्रोहीहरुले बदला लिनसक्ने त्रासका कारण सेना छाडनेहरुमा धेरैजसो इसाई धर्मावलम्वी सैनिकहरु थिए।

ती मध्ये केही इसाई मिलिसियामा प्रवेश गरेका थिए।

त्यहाँ गएको झण्डै एक वर्षदेखि भडकिएको साम्प्रदायिक हिंसामा एक हजार जना भन्दा बढीको ज्यान गएको थियो।

युद्धविराम

आइतबार राजधानी बेंगुइमा प्रतिद्वन्द्वी इसाई तथा मुसलमान मिलिसियाहरुले आपसमा हात मिलाउँदै युद्धविरामको घोषणा गरेका थिए।

उनीहरुले सर्वसाधारणसंग विगतका आफ्ना ज्यादतिहरुकालागि माफी पनि मागेका थिए।

त्यहाँ तैनाथ फ्रान्सेली सैनिकहरुले युद्धविराम गराउन निर्णायक भूमिका निर्वाह गरेका थिए।

मध्य अफ्रिकी गणतन्त्र एउटा इसाई बहुल मुलुक हो।

त्यहां मुसलमान धर्मावलम्वीहरुको संख्या झण्डै १५ प्रतिशत मात्रै छ।

गत वर्ष मार्च महिनामा मुसलमान मिलिसियाहरुको नेतृत्व गर्दै विद्रोही नेता मिसेल जोटोडियाले सत्ता हत्याएका थिए।

जोटोडियाले अहिले देश छाडेको र उनी बेनिनतर्फ लागेको बताइएको छ।

हिंसा

हिंसाबाट बच्न दशौं हजार मानिसहरु तिनका घर छाडेर भागेका थिए।

मध्य अफ्रिकी गणतन्त्र पहिले फ्रान्सको उपनिवेश थियो।

त्यहां शान्ति स्थापना गर्न फ्रान्सले झण्डै १,६०० तथा अफ्रिकी संघले झण्डै चार हजार शान्ति स्थापक सैन्य खटाएका छन्।

थप हिंसा रोक्न उनीहरुले राजधानी लगायत अन्यत्र पनि गश्ती गरिरहेका छन्।

नयाँ कार्यवाहक राष्ट्रपति अलेक्ज्याण्डर फर्डिनाण्ड गुइन्डेटले अब अराजकताको अवधि सकिएको घोषणा गरेका छन्। उनले,

उनकै शब्दमा, मिलिसिया तथा लुटेराहरुको भोजको समय सकिएको चेतावनी पनि दिए।

एएफपि समाचारसंस्थासँग कुरा गर्दै एकजना स्थानीय सेलेका कमाण्डर क्याप्टेन सुलेमान दाउदाले भने, “जोटोडिया देश छाडेर गैसकेकाले अब लडिरहनुको कुनै औचित्य नभएको मैले बताएँ। अब हामी भावी सरकारको निर्देशन पर्खिरहेका छौं।”

जोटोडियाले आफु राष्ट्रपति भैसकेपछि सेलेका मिलिसिया संगठनलाई भँग गर्ने बताएका थिए।

तर उनले आफु समर्थित मिलिसियाहरुलाई नियन्त्रण गर्न नसकेपछि इसाईहरुले पनि भिजिलान्ते समूहहरु गठन गरेका थिए। त्यसपछि दुबै समुदायहरुबीच हिैस्रक भीडन्तहरु भएका थिए।

बेंगुइमा सोमबारदेखि कामचलाउ संसदले नयाँ राष्ट्रपति चयन गर्नेबारे परामर्श शुरु गर्न लागेको छ।