डाक्टर केसीले अनसन नतोड्ने

  • 13 जनवरी 2014
Image caption पहिला पनि डाक्टर गोविन्द केसी शिक्षण अस्पतालमा हुने हस्तक्षेपको विरोधमा अनसन बसेका थिए

शिक्षण अस्पतालमा राजनीतिक र प्रशासनिक हस्तक्षेप बढेको भन्दै विरोध स्वरुप अनसन सुरु गरेका प्राध्यापक डाक्टर गोविन्द केसीले माग पूरा नभएसम्म अनसन नतोड्ने बताएका छन्।

अस्पतालमा पदाधिकारीको नियुक्ति वरियता र व्यक्तिको योग्यता भन्दा पनि राजनीतिक भागबण्डाका आधारमा हुने परिपाटी बसेको भन्दै डाक्टर केसी शनिवारदेखि शिक्षण अस्पतालकै एउटा कोठामा अनसन बसेका हुन्।

निजी मेडिकल कलेजलाई सम्बन्धन नदिने भएपछि त्रिबि पदाधिकारीको दबाबमा निवर्तमान डिन प्रकाश सायमीले राजीनामा दिनुपरेको भन्दै उनको पुनर्बहालीसहितका माग राखेर केसी अनसनमा उत्रिएका हुन्।

दवाव

अघिल्लो वर्ष ३ र ६ दिन गरि दुईपटक डाक्टर केसी अनसन बसेपछि शिक्षण अस्पतालको डिनमा डाक्टर प्रकाश सायमि नियुक्त भएका थिए।

तर अहिले उनै डाक्टर सायमीले डिन पदबाट राजीनामा दिएकै विषयलाई उठाएर आफू अनसनमा उत्रिएको डाक्टर केसीले बताए।

उनले भने, “उहाँ स्वच्छ छबि भएको इमान्दार मान्छे हो। संस्थाको हितको लागि लड्दा दवावको कारणले उहाँले राजीनामा दिनु भो। म यही कारणले अनसन बसेको हो।”

गएको साता शिक्षण अस्पतालले डाक्टर सायमीको राजीनामा स्वीकृत गर्दै डाक्टर शशी शर्मालाई डिनमा नियुक्त गरेको थियो।

अपमान

स्वच्छ प्रकृयाबाट नियुक्त भएका पदाधिकारीले राजनीतिक र प्रशासनिक दबाब झेल्न नसकेर राजीनामा दिनुले संस्थाकै अपमान भएको डाक्टर केसीले बताए।

“उहाँलाई अपमान गरेर राजिनामा गर्न लागाएको हो भने यो संस्थाकै अपमान हो। हाम्रो यहाँको जुन सम्मान थियो, त्यो पहिला फिर्ता लिनु पर्छ।” उनले भने।

पूर्वाधार नपुगेका थप निजी मेडिकल कलेजलाई सम्बन्धन नदिने डाक्टर सायमीको अडान जायज भएको भन्दै गैरकानुनी रुपमा सञ्चालनमा आउन लागेका कलेजहरुको छानबिन हुनुपर्नेसमेत उनको माग छ।

यस्ता राजनीतिक र प्रशासनिक दबाबले कुनैबेला दक्षिण एसियामै राम्रो भएको शिक्षण अस्पताल गिर्दो अवस्थामा भएको उनले बताए।

उनले नयाँ डिन नियुक्ति प्रक्रियाको छानबिन, त्रिवि पदाधिकारीलाई कारबाही, मेडिकल कलेजको सम्बन्धन प्रक्रिया बन्द गर्नुपर्ने सहितका ७ बुँदे माग राखेका छन्।