इजिप्टमा नयाँ संविधानबारे जनमत संग्रह

  • 14 जनवरी 2014
Image caption सेनाले जनमत संग्रहमा नयाँ संविधानको पक्षमा मत खसोस् भन्ने चाहेको छ

इजिप्टमा कडा सुरक्षाबीच नयाँ संविधानबारे जनमत संग्रह भइरहेको छ।

सो मतदानको परिणामले ताजा निर्वाचनकोलागि बाटो खोलिदिन सक्छ।

नयाँ संविधानको उद्धेश्य इस्लामी राष्ट्रपति मोहम्मद मोर्सीले आफू सेनाद्वारा बर्खास्त हुनुअघि जारी गरेका संविधानलाई प्रतिस्थापन गर्नु हो।

मोर्सीको बर्खासीलाई जनताले सदर गरेको देखाउन सेनाले जनमत संग्रहमा नयाँ संविधानको पक्षमा मत खसोस् भन्ने चाहेको छ।

आतंकवादी समुहको दर्जामा राखिएको मोर्सीको मुसलिम ब्रदरहुडले जनमत संग्रहका लागि भइरहेको मतदान बहिष्कार गरेको छ।

हिंसाको डर

त्यसैले पनि इजिप्टमा अहिले हिंसाको डर छ।

मतदान शुरू हुन ठिकअघि राजधानी कायरोको इम्बाबा जिल्लामा एउटा अदालतनजिक विष्फोटन भएको थियो।

तर त्यसमा कोही पनि घाइते नभएका बताइएको छ।

एक मतदाता सलाह मुस्ताफाले बीबीसीसित भने, “हामीलाई गत वर्ष दिइएको संविधान निकै नराम्रो थियो, यस पटकको संविधानमा हाम्रालागि धेरै अधिकारहरू छन् र त्यसमा हामीले पहिलो दिनदेखि देख्‍न खोजेका थुप्रै अवधारणाहरू छन्।“

तर मुस्लिम ब्रदरहुडको राजनीतिक संगठनका एक प्रवक्ता, मोहाम्मद सोउदानले धेरै जसो मानिसले मतदान बहिष्कार गरेको बताए।

उनले भने, “त्यसरी बहिष्कार गरेर मानिसहरूले के सन्देश दिएका छन् भने उनीहरूलाई यो नयाँ शक्ति मान्य छैन।“

'महत्वपूर्ण घडी'

अन्तरिम प्रधानमन्त्री हाजेम बेब्लावीले जनमत संग्रहलाई इजिप्टको सबैभन्दा महत्वपूर्ण घडीको संज्ञा दिएका छन्।

आफूले मतदान गरेपछि अन्तरिम राष्ट्रपति अडली मनसौरले भने, “मानिसहरूले आतंकवादलाई देखाइ दिनुपर्छ उनीहरू कुनै कुरासित डराउँदैनन् भनी।“

नयाँ संविधान एक ५०-सदस्यीय समितिले बनाएको हो जसमा इस्लामी दलहरूका केवल दुई प्रतिनिधिहरू थिए।

अधिकारीहरू भन्छन् नयाँ संविधानमा थप अधिकार तथा स्वतन्त्रता सम्बन्धि प्रावधानहरू छन् र त्यो स्थिरतातर्फको महत्वपूर्ण कदम हो।