कांग्रेसले 'दल विशेष' प्रस्ताव नल्याउने

  • 14 जनवरी 2014
तस्वीर कपीराइट nc
Image caption नेपाली कांग्रेसका नेताहरुको पछिल्ला अभिव्यक्तिले नेकपा एमाले पनि चिढिने देखिन्छ

नेकपा एमालेले सरकार नेतृत्वसम्बन्धी औपचारिक प्रस्ताव ल्याउन आग्रह गरिरहेका बेला नेपाली कांग्रेसले दल विशेषको लागि छुट्टा-छुट्टै प्रस्ताव ल्याउन नसकिने जनाएको छ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आफ्नो पार्टीको पहिलो प्राथमिकता सहमतीय सरकार भएको बताए।

राष्ट्रपति निर्वाचन गर्नुपर्ने अडान राखेर कांग्रेसलाई एमालेले चिढ्याईरहेका बेला कांग्रेसका नेताको यस्तो भनाइ आएको हो।

संविधानसभा निर्वाचनबाट पहिलो ठूलो दल बनेको नेपाली कांग्रेसका शीर्ष नेताहरुले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्नुपर्ने विषयमा दलहरुसँग अनौपचारिक छलफल गर्दै आएका छन्।

प्रस्ताव

दोस्रो ठूलो दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग सोमबार भएको छलफलमा पनि सरकार नेतृत्वसम्बन्धी औपचारिक प्रस्ताव ल्याउन आग्रह गरेका थिए।

तर नेपाली कांग्रेसका नेता निधि सरकार निर्माणका लागि कुनै एउटा पार्टी सुहाउँदो प्रस्ताव ल्याएर नहुने बताउँछन्।

उनले भने, ''नेकपा एमालेलाई मात्र उपयुक्त हुने, एकीकृत माओवादीलाई उपयुक्त हुने वा तराई केन्द्रित दलका लागि मात्र प्रस्ताव ल्याएर हुँदैन।''

राष्ट्रपति

एमालेले नयाँ जनादेशअनुसार राष्ट्रपतिको पनि निर्वाचन हुनुपर्ने धारणा राख्दै आएको छ।

उक्त पार्टीका केही नेताहरुले राष्ट्रपति निर्वाचनपछि मात्र सरकार गठन प्रक्रिया शुरु हुनुपर्ने भन्ने सार्वजनिक रुपमै अभिव्यक्ति दिन थालेका छन्।

त्यस्ता अभिव्यक्तिबाट रुष्ट बनेको नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र बडुले एक वर्षमा संविधान जारी गरिसकेपछि राष्ट्रपति निर्वाचन हुनुपर्नेमा आफ्नो पार्टी अडिग रहेको बताए।

उनले भने, ''हामीले अहिले पनि भनिरहेका छौं, राष्ट्रपतिको चयनलाई राजनीतिक भागबण्डाको विषय नबना‌औं।''

निधिले एकीकृत नेकपा माओवादी र तराई केन्द्रित दलका नेताहरुले सरकारमा नजाने सार्वजनिक अभिव्यक्ति दिने गरे पनि आफूहरुसँगको छलफलमा त्यस्ता कुरा नगरेको दाबी गरे।

दोस्रो ठूलो दल नेकपा एमाले र पहिलो ठूलो दल नेपाली कांग्रेसको परस्पर विरोधाभासपूर्ण अभिव्यक्तिले नयाँ सरकार गठनमा पहिलो संविधानसभाको जस्तै ढिलाइ हुने देखिन्छ।

यसअघि संविधानसभाको पहिलो बैठक बसेको तीन महिनापछि सरकार गठन भएको थियो।