वार्तामा सहभागी हुन सिरियाली विपक्षलाई चेतावनी

  • 14 जनवरी 2014
सिरियाका  विपक्षी लडाकु
Image caption सिरियाली विपक्षले आउंदो शुक्रबार बैठक गरी शान्ति वार्तामा सहभागी हुने नहुने निर्णय गर्दैछ

सिरियाको नरमपन्थी विपक्षका एकजना बरिष्ठ सदस्यले भनेका छन्, आगामी हप्ता जिनीभामा हुने शान्ति वार्तामा सहभागी नभए सिरियाली विपक्षलाई दिईंदै आएको सहयोगबारे अमेरिका र ब्रिटेनले पुनर्विचार गर्ने चेतावनी दिएका छन्।

सिरियाली विपक्षका ति सदस्यले लण्डनमा कुरा गर्दै, ब्रिटेन र अमेरिकाले ‌ विपक्षी सिरियाली राष्ट्रिय गठबन्धनले आगामी हप्ता हुने वार्तामा सहभागी हुनै पर्ने नभए हालसम्म पाइआएको समर्थन गुमाउनु पर्ने बताएका जनाएका छन्।

उनले लण्डन र वाशिंगटनले पहिले जस्तै समर्थन गर्न नसक्ने भन्ने त्यस्तो चेतावनी स्पष्ट भाषामा आएको पनि जनाएका छन्।

सार्वजनिक रुपमा भने ब्रिटिश सरकारले सिरियाको नरमपन्थी विपक्षलाई त्यत्तिकै परित्याग नगर्ने बताएको छ।

कमजोर

संसदमा बोल्दै ब्रिटेनका विदेशमन्त्री विलियम हेगले तिनीहरुलाई दिइएको समर्थन कमजोर हुन नहुने बताएका छन्।

उनले बरु सिरियाली विपक्षका लडाकूहरुलाई दिईंदै आएको गैरघातक सहयोग, गलत हातमा नपरेको भन्ने यकिन गर्न सकेमा त्यसलाई अझ बढाउन सकिने समेत बताएका छन्।

तर सिरियाली विपक्षीहरुलाई राष्ट्रपति असदको सरकारको सामुन्ने उपस्थित भएर वार्ता गर्नका लागि मनाउन अविश्वनीय रुपमा नै अप्ठ्यारो परिरहेको प्रस्ट छ।

र शुक्रबार विपक्षी सिरियाली राष्ट्रिय गठबन्धनको बैठक बस्दा, तिनीहरुले वार्तामा सहभागी नहुने निर्णय गरे भने सिरियाको द्वन्द्व अन्त्य गर्न कुटनीतिमा भर परिएको समग्र रणनीति नै विथोलन सक्छ।