इजरेलद्धारा अमेरिकासंग क्षमायाचना

  • 15 जनवरी 2014
moshe yaalon तस्वीर कपीराइट AP
Image caption धेरै चासो दिएको भन्दै इजरेली रक्षामन्त्रीले केरीको आलोचना गरेको खबर छापिएको थियो।

इरजेलले आफ्ना रक्षामन्त्रीले अमेरिकी विदेशमन्त्रीबारे गरेको टिप्पणीप्रति क्षमायाचना गरेको छ।

मध्यपूर्वमा शान्ति स्थापना गर्ने अमेरिकी विदेशमन्त्रीको प्रयास मसिहा बन्ने खालको भएको भनी इजरेली रक्षामन्त्रीले गरेको टिप्पणीप्रति अमेरिकाले सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गरेको थियो।

तनाव

त्यस्तो असन्तुष्टिपछि द्धिपक्षीय सम्बन्धमा पैदा हुन सक्ने तनाव मत्थर पार्ने प्रयासमा गएमध्यरात इजरेली रक्षामन्त्रालयले एक वक्तव्य निकाली क्षमायाचना गरेको थियो।

इजरेली रक्षामन्त्री मोसैया यालोनले अमेरिकी विदेशमन्त्रीले मध्यपूर्वमा शान्तिस्थापनाका लागेको गरेको प्रयास मसिहा बन्ने खालको भएको भनी टिप्पणी गरेको एक स्थानीय अखबारले छापेको थियो।

तस्वीर कपीराइट AP
Image caption अमेरिकी विदेशमन्त्री केरी शान्ति प्रयासमा पटकपटक इजरेल पुग्ने गरेका छन्

उनले गरेको भनिएको उक्त टिप्पणीप्रति अमेरिकाले सार्वजनिक रुपमै तीव्र असन्तुष्टि पोखेको छ।

असन्तुष्टि

अमेरिकी राष्ट्रपति कार्यालयका प्रवक्ता जे कार्नेले विदेशमन्त्री जन केरी शान्तिस्थापनाका लागि अनवरत लागिरहेको भन्दै यदि उक्त टिप्पणी सही भए अपमानजनक भएको प्रतिक्रिया दिएका छन्।

आफ्नोसम्बन्धमा निकट मित्र अमेरिकाबाट आएको यस्तो विरलै प्रतिक्रियापछि इजरेलले क्षमायाचना गरेको जस्तो देखिन्छ।

क्षमायाचना वक्तव्यमा इजरेली रक्षामन्त्रीले आफ्नो भनाइको खण्डन त गरेका छैनन् तर उनले कुनै खालको अपमान गर्ने आफ्नो मनसाय नरहेको भने बताएका छन्।