डा. केसीको अनसनले बिरामीलाई सकस

  • 16 जनवरी 2014
तस्वीर कपीराइट bbc nepali binita
Image caption डाक्टर केसीको स्वास्थ्य अवस्था थप नाजुक बन्दै गएको अस्पतालले जनाएको छ

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राजनीतिक र प्रशासनिक हस्तक्षेप भएको भन्दै आमरण अनसनमा उत्रिएका प्राध्यापक डाक्टर गोविन्द केसीको माग मध्ये निजी कलेजहरुलाई सम्बन्धन दिनु हुँदैन भन्ने विषयमा शिक्षा मन्त्रालय, त्रिवि र शिक्षण अस्पतालका पदाधिकारीले तत्काल सम्बन्धन नदिने निर्णय गरेका छन्।

शिक्षा मन्त्री माधव पौडेलले भने, "त्रिभुवन विश्वविद्यालयले तत्काल निजि मेडिकल कलेजहरुलाई सम्बन्धन नदिने र सरोकारवालाहरुसँग ब्यापक छलफल गरेर मात्रै प्रकृया अघि बढाउने निर्णय भएको छ।"

उता पाँच दिनदेखि अनसनमा बसेका डाक्टर केसीको स्वास्थ्य थप नाजुक हुँदै गईरहेको अस्पतालले जनाएको छ।

उनलाई कुनै पनि बेला सघन उपचार कक्षमा सार्नुपर्ने स्थिति रहेको त्यहाँ स्थित डाक्टर अभिषेक भट्टराईले जानकारी दिए।

असर

शनिबारदेखि शुरु भएको अनसनमा डाक्टर केसीको आन्दोलन जायज भएको भन्दै उनको समर्थनमा अस्पतालका दर्जनौं डाक्टरहरुले कतिपय सेवाहरुलाई निरन्तरता नदिएपछि त्यसले सैयौं बिरामीलाई असर गरेको छ।

बीरगंजदेखि आमा सुशिलादेवीलाई उपचार गराउन बुधबार काठमाडौं आएका एक परिवारले बिहीबार सघन उपचार कक्षको सुविधा नपाएपछि विरामीलाई अर्को अस्पताल पु-याए।

डाक्टरको आन्दोलनले उपचार नपाएका laरामीका आफन्तले गुनासो गर्दै भने, "हामी त उपचार सस्तो भरपर्दो छ भनेर टाढा देखि आउँछौं। डाक्टरको अनसन भन्दैमा बिरामी नै अर्को अस्पताल लैजानुस् भन्ने भए अस्पताल बन्द छ भनेर घोषणा गरे भैहाल्यो नि।"

डाक्टर केसीले नवनियुक्त डाक्टर शशी शर्मालाई हटाइ निवर्तमान डाक्टर प्रकाश सायमीलाई डिनमा पुनर्वहाली गर्नुपर्ने लगायतका सात बुँदे माग राखेका छन्।

माग पुरा नभएसम्म अनसन नतोड्ने बताएका डाक्टर केसीको समर्थनमा शिक्षण अस्पताललगायत अन्य अस्पतालका डाक्टरहरुले पनि ऐक्यवद्धता जनाइरहेका छन्।

डाक्टर केसी अनसनमा बस्नुलाई आफूहरुले समर्थन गरे पनि त्यसले बिरामीलाई सेवा दिने विषयमा भने असर गरिरहेको आन्दोलनमै साथ दिएका केही डाक्टरहरुले बताए।

एकजना चिकित्सक डा राजेश नेपालले भने, "डाक्टर केसी बिरामीलाई मर्का परोस् भन्ने आशयमा हुनुहुन्न। त्यसैले उहाँलाई समर्थन गर्ने डाक्टरहरुले अहिले देखिएको अस्पतालको सेवालाई असर नपारी बिरामीलाई सेवा दिनुपर्छ।"

डाक्टर केसी माग पुरा नभएसम्म अनशन नतोड्ने र डाक्टर शर्मा डिन पदबाट राजीनामा नदिने अडानमा रहेपछि यसको प्रत्यक्ष मारमा दैनिक अस्पताल धाउने सैयौं बिरामी परेका छन्।