'बाल यौन दुर्व्यवहारको अन्तर्राष्ट्रिय गिरोह भंग'

  • 16 जनवरी 2014
बाल यौन दुर्व्यवहार
Image caption फिलीपीन्सको गरिब इलाकाका बालबालिका यौन दुर्व्यवहारको शिकार हुने गरेको पाइएको छ

ब्रिटेनको प्रहरीले फिलीपीन्सका बालबालिकाहरुलाई इन्टरनेटको माध्यमबाट यौन दुर्व्यवहार गर्ने एउटा अन्तर्राष्ट्रिय अपराध संगठनलाई भंग गरिदिएके जनाएको छ।

२९ जना लाई पक्राउ गरिएको छ भने विश्वव्यापी रुपमा सातसय जना भन्दा बढी संदिग्ध व्यक्तिहरुको पहिचान गरिएको छ।

फिलिपीन्समा १५ जना बालबालिकालाई उद्धार गरिएको छ।

दुर्व्यवहार

बालबालिकाको हितमा काम गर्ने एउटा परोपकारी संस्था, चिल्ड्रनस् लिगल ब्यूरोकी नोएमी ट्रुया आबारियन्तोस् ले बीबीसीलाई भनिन्- आफ्नै आमाबाबुले नै केहि बालबालिकालाई यौन दुर्व्यवहार गरेको समेत पाइएको छ।

“इन्टरनेटको माध्यमबाट दुनियांको अर्को कुनामा रहेको ग्राहकले ति बालबालिकाहरुका विभिन्न अंगमा छुन र चुम्बन गर्न निर्देशन दिने गरेका र यौन खेलौनाहरु समेत पठाउने गरेका पाइएको छ।

"घृणित कुरा त कतिपय अभिभावक र नातेदारहरुले नै बालबालिकालाई ग्राहकको निर्देशन अनुसार छुने चलाउने गरेको पाइएको छ।“

बीबीसीले गरेको एक अनुसन्धानका अनुसार ब्रिटेनका बालयौन दुराचारीहरुले पैसा तिरेर फिलिपीन्समा बालबालिकाहरुमाथि हुने यौन दुर्व्यवहार वेबक्यामको मद्दतले इन्टरनेटबाट हेर्ने गरेका थाहा भएको छ।

एउटा घटनामा, एकजना ब्रिटिश पुरुषले इन्टरनेटको माध्यमबाट एउटा फिलिपीनी परिवारका पांचजना बालबालिकामाथि यौन दुर्व्यवहारको निर्देशन दिएको पाइएको थियो।

ति पुरुष टिमोथी फोर्डले हाल बालयौन दुराचारको अभियोगमा ब्रिटेनको जेलमा साढे आठ बर्षको जेल सजायं भोगीरहेका छन्।

अनुसन्धानकर्ताहरुले ति व्यक्तिको ल्यापटप कम्प्युटरको विश्लेषण गर्दा बालबालिकाहरुको अश्लिल दृश्य र फिलिपीन्समा ति बालबालिकाको अभिभावकलाई पैसा पठाएको विवरण फेला परेको थियो।

उत्पीडन

फिलीपीन्सको सरकारी अनुमान अनुसार देशमा साठी हजार देखी एकलाख सम्म बालबालिकाहरु यौन उत्पीडनको शिकार हुने गरेका छन्।

र ति मध्ये धेरै साइबर सेक्स भनिने इन्टरनेट मार्फत हुने यौन दुर्व्यवहारबाट पिडित छन्।

अनुसन्धानकर्ताहरु भन्छन् खासगरी विकासशील देशहरुमा बालबालिकाहरुलाई यौन दुर्व्यवहार गरिने र त्यस्तो प्रत्यक्ष भिडियो दृश्य वेबक्यामको मद्दतले इन्टरनेटमा प्रसारण गर्ने गरिएको पाइएको छ।

विहीबार ब्रिटेनको अपराध अनुसन्धानसम्बन्धि राष्ट्रिय निकायले बाल यौन दुराचारीहरुलाई निशाना बनाउन आफूले अमेरिका, अष्ट्रेलिया र फिलीपीन्सका प्रहरीसंग मिलेर गरिरहेको कामको विवरण सार्वजनिक गर्दैछ।