सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनी

  • 17 जनवरी 2014
Image caption डाक्टर केसीको अनशनमा अन्य डाक्टरहरुले ऐक्यवद्धता जनाएपछि बिरामीहरुले दुख पाईरहेका छन्

नेपाल चिकित्सक संघले अनशन बसेका डा गोविन्द केसीका माग सरकारले पुरा नगरे सोमबारदेखि सरकारी अस्पतालका सेवाहरु ठप्प पार्ने चेतावनी दिएको छ।

संघले केसीको ७ बुँदेसहित आफ्नो ५ बुँदे माग अघि सार्दै त्यसलाई पुरा गर्न सरकारलाई आइतबारसम्मको समयसीमा दिएको छ।

संघको चेतावनीमा सरकारले भने कुनै प्रतिक्रिया जनाएको छैन।

आन्दोलन

चिकित्सक संघले शुक्रबार पत्रकार सम्मेलन गरी अनशन बसेका डा गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनमा उत्रिने घोषणा गरेको हो।

उसले आफ्ना माग पुरा नभए देशभरका सरकारी अस्पतालहरुमा सेवा ठप्प पार्ने चेतावनी सरकारलाई दिएको हो।

आन्दोलनका कार्यक्रमबारे संघका महासचिव डा मुक्ति श्रेष्ठले भने, ''शनिबार र आईतबार हामी कुर्छौ, यदि आइतबारसम्म पनि केही सुनुवाइ भएन भने चरणबद्ध आन्दोलनको घोषणा गर्नेछौं।''

संघले आन्दोलनमा सघाउन मुलुकभरका चिकित्सकहरुलाई शनिबारसम्म राजधानी आउन आग्रह गरेको छ।

उसले आफ्ना मागबारे शिक्षा र स्वास्थ्य मन्त्रालय लगायतका निकायलाई जानकारी गराईसकेको जनाएको छ।

चेतावनी

महासचिव श्रेष्ठले भने, ''हामीले मागबारे आइतबार स्वास्थ्य र शिक्षा मन्त्रालय लगायत सम्बन्धित निकायलाई पत्राचार गरिसकेका छौं।''

शिक्षण अस्पतालमा जारी राजनीतिक तथा प्रशासनिक दबाब अन्त्यको माग गर्दै डा केसी अनशन बसेको शनिबार एक साता हुँदैछ।

उनले नयाँ डिन नियुक्ति प्रक्रियाको छानबीन, त्रिवि पदाधिकारीलाई कारवाही, मेडिकल कलेजको सम्बन्धन प्रक्रिया बन्द गर्नुपर्ने सहितका ७ बुँदे माग राखेका छन्।

उनका मागमध्येको शिक्षण अस्पताललाई स्वायत्ता दिने सम्बन्धमा सुझाव दिन सरकारले बिहिबार एउटा कार्यदल गठन गरेको थियो।

माग पुरा गर्न संघले दिएको समयसीमाबारे जिज्ञासा राख्दा सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री माधव पौडेलले कुनै प्रतिकृया दिन चाहेनन्।

संघले माग संबोधन नभए आफूहरुको आन्दोलनका कारण देखा पर्ने स्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ।