‘सिरिया बन्दी साटासाट गर्न तयार’

  • 17 जनवरी 2014
अलेप्पो शहर तस्वीर कपीराइट Reuters
Image caption सिरिया सरकारले अलेप्पो शहरमा युद्धविराम गर्न प्रस्ताव राखेको छ

सिरिया सरकारले भनेको छ, उ विद्रोही लडाकुहरु संग युद्धविराम गर्न तयार छ र उसले यसमा सघाउनकालागि रुसलाई भनिसकेको छ।

मस्कोमा एउटा पत्रकार सम्मेलनमा बोल्दै सिरियाका विदेश मन्त्री वालिद अल मुआलेमले भने, उनले आफ्ना रुसी समकक्षी सेर्गेइ लाभ्रोभलाई सिरियाको सबैभन्दा ठूलो शहर अलेप्पोमा भीडन्त रोक्न पहल गर्न आग्रह गरेका छन्।

दमास्कस सरकारले यस्तो प्रस्ताव राखेको यो पहिलो पटक हो।

अल मुआलेमले भने, “मैले मन्त्री लाभ्रोभलाई अर्को पक्षले बन्दी बनाएका मानिसहरुलाई सिरियाका जेलमा राखिएका बन्दीहरुसंग साटासाट गर्न हामी तयार रहेको हाम्रो आधारभूत अडानबारे पनि जानकारी दिएको छु। यसकालागि हामी सूची आदानप्रदान र आवश्यक प्रबन्ध मिलाउन तयार छौं।”

युद्धविराम

हाल बेरुतमा रहेका बीबीसीका संवाददाता जीम म्युर भन्छन्, अलेप्पोमा युद्धविराम गर्ने तथा बन्दी साटासाट गर्ने सिरियाली प्रस्ताव मस्कोमा सार्वजनिक गरिनु एउटा संयोग मात्रै होइन।

उनी भन्छन्, यो आउँदो साता स्वीटजर्ल्याण्डमा हुन गैरहको शान्ति सम्मेलन अघि विभिन्न मुलुकहरुबीच उच्च स्तरमा भैरहेका कूटनीतिक संवादको परिणाम हो।

उनी भन्छन्, सिरियाली विपक्षी गठवन्धनलाई सघाइ रहेको पश्चिमी शक्तिहरु विभाजित तथा आशँका गरिरहेका विपक्षीहरुलाई वार्तामा भाग लिएमा केही उपलब्धि हासिल हुनसक्छ भन्ने देखाउन चाहन्छन्।

सिरियाका विपक्षी समूहहरु आउँदो साता हुन लागेको शान्ति वार्तामा भाग लिने कि नलिने भन्ने विषयमा निधो गर्न शुक्रबार टर्कीमा भेला भैरहेका छन्।

संयुक्त राज्य अमेरिका तथा उसका सहयोगीहरुले सिरियाको प्रमुख विपक्षी समूह सिरियन न्याशनल कोयलिसनलाई जेनेभामा हुन लागेको सम्मेलनमा भाग लिन दबाब दिइरहेका छन्।

तर उसले प्रस्तावित संक्रमणकालिन सरकारबाट राष्ट्रपति बसर अल असदलाई बाहिरै राखिने वाचा नगरेसम्म सम्मेलनमा भाग नलिने जनाएको छ।

सम्मेलन

उक्त गठवन्धनका झण्डै एक तिहाइ सदस्यहरुले सम्मेलनमा भाग नलिने जनाएका छन्।

बीबीसीसँग कुरा गर्दै गठवन्धनका एकजना प्रवक्ता लुए साफीले भने, मतभिन्नताका बावजुद शनिबारसम्म एउटा निर्णयमा पुग्ने प्रयास गरिनेछ। अमेरिकी विदेश मन्त्री जोन केरीले आउँदो साता हुन लागेको सम्मेलन सिरियाली क्रान्तिका लक्ष्यहरु प्राप्त गर्नकालागि सर्वोत्तम अवसर भएको जनाएका छन्।

सिरियाको गृहयुद्ध सन् २०११ मा शुरु भएको थियो। संयुक्त राष्ट्र संघले सिरियाली द्वन्द्वमा एकलाख भन्दा बढी मानिसहरुको ज्यान गैसकेको अनुमान गरेको छ।

यसैबीच लेबनानबाट प्राप्त समाचारहरमा सिरियाली सीमासंग जोडिएको अर्सल नगरमा गरिएको रकेट प्रहारमा परी कम्तीमा सात जनाको ज्यान गएको जनाइएको छ।

थुप्रै समाचारहरुमा सिरियाभित्रैबाट ती रकेटहरु प्रहार गरिएको जनाइएको छ।

तर केही अन्य विवरणहरुमा ती रकेट लेबनानबाट प्रहार गरिएको हुनसक्ने बताइएको छ। सिरियाको हिंसाबाट बच्न भागेका दशौं हजार शरणार्थीहरु बेका उपत्यकामा बसिरहेका छन्।

अर्सल सोही उपत्यकाको एउटा नगर हो।

ती शरणार्थीहरु सिरियाली विद्रोहीहरुका समर्थक रहेको बताइएको छ।