काबुल आक्रमणमा विदेशीहरूको मृत्यु

  • 18 जनवरी 2014
तस्वीर कपीराइट AP
Image caption पछिल्लो आक्रमण हुँदा सो रेष्टुराँमा रातीको खाना खान मानिसको भीड लागेको थियो

अफ्गानिस्तानमा प्राय विदेशीहरू गरी कम्तिमा २१ जनाको ज्यान लिएको एक आत्मघाती बम हमलाको अन्तर्राष्ट्रिय जगतले कडा शब्दमा निन्दा गरेको छ।

मारिनेहरूमा अन्तर्राष्ट्रिय मुद्रा कोषका अफ्गानिस्तान प्रमुख र राष्ट्रसंघका चार कर्मचारी थिए।

बम हमलामा ज्यान गुमाएका १३ विदेशीमा क्यानाडा, लेब्नन, ब्रिटेन र अमेरिकाका नागरिक थिए।

बाँकी आठ जना अफ्गान थिए। मारिनेहरूमा पाँच महिला परेका बताइएको छ।

सो बम आक्रमण राजधानी काबुलस्थित एक लेब्ननी रेष्टुराँमा भएको थियो।

तालेबानद्वारा जिम्मा

तालेबान विद्रोहीहरूले सो आक्रमणको जिम्मा लिएका छन्।

काबुलको वाजिर अक्बर खान क्षेत्रमा रहेको सो रेष्टुराँ विदेशी, कुटनीतिज्ञ, तथा सहायता संस्थामा काम गर्नेहरू माझ निकै लोकप्रिय छ।

पछिल्लो आक्रमण हुँदा सो रेष्टुराँमा रातीको खाना खान मानिसको भीड लागेको थियो।

अफ्गानिस्तानका सहायक गृहमन्त्री मोहम्मद आयौब सालाङ्गीले भारी सुरक्षा व्यवस्था गरिएको सो रेष्टुराँको बाहिरी द्वारमा एक आत्मघाती हमलाकारले विष्फोटन गराएको बताए।

त्यसपछि दुई बन्दुकधारीहरूले सो रेष्टुराँमा पसेर जथाभावी गोली चलाएका उनले जानकारी दिए।

राष्ट्रसंघीय महासचिव बान की मूनले सो आक्रमणको कडा शब्दमा निन्दा गरेका उनका एक प्रवक्ताले बताएका छन्।

“गैरसैनिकहरूलाई निशाना बनाएर गरिने त्यस्तो आक्रमण पुरै अस्वीकार्य छ र त्यो मानवता सम्बन्धि अन्तर्राष्ट्रिय कानूनको घोर उल्लंघन हो, उनीहरुले त्यस्तो काम तुरून्तै रोकनु पर्छ,” बानलाई उद्धृत गर्दै उनका ती प्रवक्ताले भनेका छन्।