दलभित्रकै खेमालाई मनाउन कांग्रेसमा चुनौती

  • 18 जनवरी 2014
तस्वीर कपीराइट nc
Image caption कांग्रेसका तीनै शिर्ष नेताले संसदिय दलको नेता बन्ने आंकक्षा व्यक्त गरेका छन्

पहिलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने भए नेकपा एमाले र एकिकृत माओवादीलाई ठोस प्रस्ताव दिनुपर्ने चुनौति भोगिरहेको नेपाली कांग्रेसले सरकार बनाउनुअघि आफ्नै दलभित्रको खेमालाई पनि सन्तुष्ट पार्नुपर्ने देखिएको छ।

पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाले शुक्रबार आफ्नै निवासमा आफु निकट कांग्रेस नेताहरुसँग त्यस्तो रणनीति बनाएको सहभागी नेताले बताएका छन्।

सभापति सुशील कोइरालासहित कांग्रेसका तीनै जना शिर्ष नेताहरुले प्रधानमन्त्री बन्ने आकांक्षा देखाएको बेला देउवा पक्षले आन्तरीक तयारी अघि बढाएको हो।

संघर्ष

संविधानसभा निर्वाचनमा पहिलो दल बनेपछि नेपाली कांग्रेसभित्र तीन मुख्य नेताहरुबीच शक्ति संघर्ष चर्कँदै गएको बताइन्छ।

संसदीय दलको नेतामा सभापति कोइराला र उपसभापति रामचन्द्र पौडेल दुवैले दावी गरेपछि वरिष्ठ नेता शेरबहादुर देउवाले भने शक्ति बाँडफाँटमा प्याकेज प्रस्ताव कुरिरहेको देउवा निवासमा शुक्रबार आयोजित बैठकमा सहभागी नेता गोपालमान श्रेष्ठले बताए।

उनले भने, “पार्टी सभापति र उपसभापति दुवैले संसदीय दलको नेता बन्ने इच्छा जनाउनुभएको छ त्यसैले उहाँहरुले दुवैले देउवाजीसँग प्रस्ताव राख्नुपर्यो, निर्वाचनबाट नभइ सहमतिकै आधारमा अघि बढ्नुपर्यो भन्नेमा हामी छौं।”

कांग्रेसले संसदीय दलको नेता तय गर्न शनिबार केन्द्रीय कार्य समिति बैठक डाकेको छ।

तीन नेता विच कुरा नमिले चुनावबाट संसदीय दलको नेता छान्नुपर्ने अवस्था कांग्रेसमा छ।

शक्ति बाँडफाँटमा सन्तुष्ट भएदेखि संसदीय दलको नेता सर्वसम्मत गर्ने मनस्थितिमा देउवा रहेको नेता श्रेष्ठले उल्लेख गरे।

“सुशीलजीले नै एक व्यक्ति पदको कुरा ल्याउनु भएको हो, उहाँ दलको नेता र प्रधानमन्त्री हुने हो भने उहाँले के छाड्ने हो लगायतका सबै कुराहरु प्याकेजकै रुपमा आउनुपर्यो,” उनले भने।

निरन्तरता

पार्टी दुइ फ्याक भएर पुन: एक भएपनि नेपाली कांग्रेसले संविधान सभा निर्वाचनमा संस्थापन पक्ष र देउवापक्षबीच झण्डै ६०:४० को अनुपातमा सभासद सीट बाँडफाँट भएको जानकारहरु बताउँछन्।

पहिलो संविधानसभामा आफ‍ू संसदीय दलको नेता रहेकाले सो पद आफूले पाउनुपर्ने दाबी उपसभापति पौडेलको छ।

“मैले मेरो कुरा साथीहरुसँग राखेको छु, हिजो संसदीय दलको नेता म थिएं र अहिले त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने मात्रै कुरा मेरो हो।”

कांग्रेसले दोश्रो ठूलो दल एमालेसँग भावी राजनीतिक मार्गचित्र संयुक्त रुपमा बनाउने प्रस्ताव गरिसकेको छ भने एकीकृत माओवादीको विश्वास खोज्ने प्रयत्न गर्दै आएको छ।