कांग्रेसमा दलको नेता छान्ने प्रकृया शुरु

  • 18 जनवरी 2014
तस्वीर कपीराइट nc
Image caption संसदीय दलको नेता चयन हुन नसक्दा नेपाली कांग्रेसले अरु दलसमक्ष सरकार निर्माणका लागि प्रस्ताव पेश गर्न सकेको छैन

सरकारको नेतृत्व गर्न अग्रसर देखिएको नेपाली कांग्रेसले आगामी एक साताभित्र संसदीय दलको नेता चयन गर्ने जनाएको छ।

सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबीच सहमति नभए निर्वाचनमार्फत संसदीय दलको नेता छनौट गरिने उक्त पार्टीले जनाएको हो।

समिति

पार्टी कार्यालय सानेपामा शनिबार बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो।

सहमति हुन नसके समितिले माघ १२ गतेसम्म निर्वाचनबाट भएपनि संसदीय दलको नेता छान्ने जिम्मेवारी पाएको छ।

पार्टी प्रवक्ता दिलेन्द्र बडुको संयोजकत्मा गठित समितिले संसदीय दलको नेता चयन गर्ने प्रक्रियाबारे नेता मिनेन्द्र रिजालले भने, ''एकजना मात्र उम्मेदवार भए सहमतिमै प्रक्रिया टुङ्गिन्छ, दुई जनाभन्दा बढी उम्मेद्वार भए निर्वाचन हुन्छ र सबैभन्दा बढी मत ल्याउने उम्मेद्वार संसदीय दलको नेता हुनेछन्।''

सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले संसदीय दलका नेता र प्रधानमन्त्री पदका लागि आ-आफ्नै दावी पेश गर्दै आएको बताइन्छ।

सभापति कोइरालाले आगामी सरकारको नेतृत्व गर्नका लागि सहयोग गर्न पौडेल र देउवालाई आग्रह गर्दै आए पनि पौडेलले भावी प्रधानमन्त्री आफू नै हुनुपर्ने बताउँदै आएका छन् भने देउवाले कोइराला प्रधानमन्त्री हुने भए आफू संसदीय दलको नेता हुनुपर्ने अडान लिएको बताइन्छ।

सहमति

यद्यपि रिजालले जारी सहमतिको प्रयास सार्थक हुने विश्वास व्यक्त गरे।

उनले भने, ''यसअघि शेरबहादुर देउवा तीन पटक प्रधानमन्त्री भईसकेको र रामचन्द्र पौडेल संसदीय दलको नेता भईसकेकाले सभापति नै संसदीय दलको नेता हुनु हुनेछ।''

कांग्रेसको यसअघिको केन्द्रीय समिति बैठकले पार्टीको पहिलो प्राथमिकता सहमतीय सरकार गठन गर्ने हुने निर्णय गरेको थियो।

भावी सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे पार्टीभित्रै सहमति हुन नसक्दा सरकार गठनका लागि संविधानसभाको सबैभन्दा ठूलो पार्टी कांग्रेसले अरु दलहरुसँग औपचारिक छलफल शुरु गर्न सकेको छैन्।

उक्त पार्टीका नेताहरुले संसदीय दलको नेता चयनसँगै सरकार गठनबारे दलीय छलफललाई तीव्र पार्ने बताएका छन्।